४ हजार वडा कार्यालयविहीन, अध्यक्षको घरमै कार्यालय
काठमाडौं । चुनाव भएर जनप्रतिनिधिले काम थालेको एक वर्ष हुन लागिसके पनि अधिकांश स्थानीय तह कार्यालयविहीन छन् । ७७ जिल्लाका स्थानीय तहमा ६ हजार ७ सय ४३ वडा छन् ।
तीमध्ये झन्डै ४ हजार वडा कार्यालयको भवन तत्काल बनाउनुपर्ने अवस्था रहेको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अधिकांश वडा कार्यालयका आफ्नै भौतिक संरचना छैनन् ।
तिनीहरू भाडाका घरमा सञ्चालित छन् । मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले करिब ४ हजार स्थानीय तहका कार्यालय बनाउनुपर्ने तथ्यांक आएको बताए ।
मुलुकभर २ हजार ७ सय ४३ वडाको मात्रै आफ्नै भवन छ । तिनमा पनि कतिपय भवन पुनर्निर्माण र मर्मतसम्भार गर्नुपर्ने अवस्थामा छन् । दुर्गम भेगका कतिपय वडा कार्यालय वडा अध्यक्षको घरमै सञ्चालित छन् ।
देशभरका २ सय ७६ नगरपालिकामध्ये १ सय १९ कार्यालय भवन निर्माणको चरणमा छन् । नगरपालिकाका भवन बनाउन २ अर्ब ९७ करोड थप रकम आवश्यक छ ।, याे खबर अाजकाे कान्तिपुरमा छ ।