News

ताप्लेजुङको फुङलिङस्थित एक होटलमा आगलागी

ताप्लेजुङको फुङलिङस्थित एक होटलमा आगलागी

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकास्थित एक होटलमा शुक्रबार विहान आगलागी भएको छ । नगरपालिका–२ स्थित हेलिप्याडमा रहेको होटल ईको भ्यु पोईन्टमा विहान करिव ६ बजे आगलागी भएको हो ।

 

आगलागीका कारण भवनको छतमा रहेको रेष्टुरेण्ट जलेर नष्ट भएको छ । पक्की भवनको तल्लो तलामा लज सञ्चालन हुँदै आएको थियो भने छतमा रेष्टुरेण्ट थियो ।

 

रेष्टुरेण्टको काउण्टरको भागबाट एक्कासी आगो सल्किएको प्रत्यक्षदर्शीले बताएका छन् । आगलागी झण्डै १ घण्टाको समयमा नियन्त्रणमा आएको थियो । स्थानीयबासी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतले आगो नियन्त्रणको प्रयास गरेका थिए ।

 


आगलागीबाट नजिकै रहेका घरहरु भने जोगिएका छन् । आगलागीको कारण खुल्न सकेको छैन भने क्षतिको विवरण संकलन भईरहेको प्रहरीले बताएको छ । मानवीय क्षति भने नभएको बताइएको छ ।

विशेष