कांग्रेस केन्द्रीय समिति बैठकः आज पनि नेताहरुले धारणा राख्ने
काठमाडौं । कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । शुक्रबारबाट सुरु बैठककाे पहिलाे दिन नेताहरुले समसामयिक राजनीति र प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको परिणामबारे समीक्षा गरेका थिए ।
अहिले बिहान १० बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा अाज पनि निर्वाचन समीक्षा र समसामयिक राजनीतिक विषयमा नेताहरुले धारणा राख्ने छन् ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले जारी केन्द्रीय समिति बैठकमा नेताहरुले बोल्ने क्रम सुरु भएको र आज पनि नेताहरुले धारणा राख्ने जानकारी दिए ।
हिजोको बैठकमा पार्टीका नेताहरु कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र नारायण खड्काले धारणा राखेका थिए । उनीहरुले पार्टी दुर्गतिको मुख्य जिम्मेवार सभापति शेरबहादुर देउवा भएको भन्दै उनको कडा आलोचना गरेका थिए ।
बैठक शुरु हुनासाथ पूर्व महामन्त्री सिंहले आठ पानाको लिखित मन्तव्य सुनाएका थिए । सिंहको लिखित मन्तव्यमा अधिकांश अंश पार्टी नेतृत्वको कमजोरीहरु देखाइएको थियाे ।
सिंह पछि बोलेका अर्का पूर्व महामन्त्री सिटौला पनि नेतृत्वको पार्टी सञ्चालन कार्यशैली नभएको भन्दै देउवाबिरुद्ध खनिए । करिब ५० मिनेट बोलेका सिटौलाले चुनावी समिक्षा प्रतिबेदन बैठकमा वितरण नगरिएको भन्दै शुरुमै आपत्ति जनाए ।
उनले जिल्लाबाट चुनावी समिक्षा प्रतिवेदन ल्याएर पदाधिकारीले बैठकमा प्रस्तुत गर्न नसकेको भन्दै नेतृत्वको आलोचना गरे । यस्तै कांग्रेस केन्द्रीय सदस्य डा.नारायण खड्काले गुट उपगुटका कारण पार्टी पराजित भएको भन्दै गुट अन्त्य गर्न जोड दिएका थिए ।
निर्वाचन समीक्षा र समसामयिक राजनीतिक विषयमा धारणा राख्ने केन्द्रीय सदस्यहरुको सूची लामो भएकाले केन्द्रीय समिति बैठक केही दिन लम्बिन सक्ने नेताहरुले बताएका छन् ।