विदेश

अमेरिका र चीनबीचको ‘ट्रेड वार’, संसारलाई पर्नेछ ठूलो असर

अमेरिका र चीनबीचको ‘ट्रेड वार’, संसारलाई पर्नेछ ठूलो असर

काठमाडौं,  चैत १० । संसारको सबैभन्दा शक्तिशाली अर्थव्यवस्था चीन र अमेरिकाबीच ‘ट्रेड वार’ सुरू हुने आशंकाका कारण अर्थशास्त्री र शेयर बजारमा हलचल मच्चिएको छ ।

 

अमेरिकाले चीनबाट आउने सामानमा थप कर लगाउने फैसला गरेको छ । चीनले पनि अमेरिकी कदमको जवाफी कारबाही गर्ने धम्की दिएको छ । कुनै पनि परिस्थितीको समाना गर्न तयार रहेको चीनको भनाई छ ।

 

के हो ‘ट्रेड वार’ ?

‘ट्रेड वार’ अर्थात व्यापार युद्ध । यो युद्धमा पनि विश्व युद्धमा जस्तै एकले अर्को देशलाई आक्रमण गरिन्छ । यसमा बदलाभाव समेत राखिन्छ । तर हतियारको ठाँउमा करको माध्यमबाट विदेशी सामानलाई निशाना बनाइन्छ । यो युद्धमा एक देशले दोस्रो देशबाट आउने सामानमा कर बढाउँछ, दोस्रो देशले पनि जवाफमा यस्तै काम गर्छ । जसका कारण दुई देशबीच टकराव बढ्छ । यसले अर्थव्यवस्था प्रभावित पार्छ नै साथै दुई देशबीच राजनीतिक तनाव समेत बढाउछ ।

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मान्छन्, की ‘ट्रेड वार’ सहज र राम्रो हो । र उनी चिनियाँ समानमा गरिएको कर वृद्धिको निर्णय फिर्ता लिने पक्षमा छैनन् ।  विदेशी सामानमा कर लगाउँदा सामानको मुल्य बढ्छ र मानिसले विदेशी सामान खरिद गर्न छोड्छन् । मानिसहरूले कम मूल्यको स्वदेशी सामान खरिद गर्छन् र घरेलु अर्थव्यवस्थालाई फाइदा पुग्छ ।

 

किन यस्तो गर्दैछन् ट्रम्प ?

ट्रम्पले ६० अर्ब डलरको चिनियाँ सामानमा कर लगाउँदैछन् । अमेरिका यो कदम ‘इन्टलेक्चुअल प्रोपटी’ चोरीको बदलामा उठाउन गइरहेको छ । किनकी चीनमाथि ‘इन्टेलेक्चुअल प्रोपर्टी’ चोरीको अरोप छ । व्हाइट हाउसका अनुसार अमेरिकासँग १ हजार भन्दा ज्यादा उत्पादनको सूची रहेको र त्यसमा २५ प्रतिशत कर लगाउने तयारी भइरहेको छ । तर, यो निर्णय कार्यान्वयन गर्नुभन्दा पहिला कम्पनीलाई आफ्नो कुरा राख्ने मौका भने दिइनेछ ।

 

ट्रम्प चीनसँगको व्यापार घाटा कम गर्छ चाहान्छन् । राष्ट्रपति बन्नुभन्दा पहिला उनले चीनसँग गलत व्यापारिक नीति अपनाइएको बताउँदै आएका थिए ।

 

उनले आफ्नो चुनावी प्रचारमा अमेरिकाको व्यापार घाटा अन्त्य गर्ने कुरा प्रतिवद्धता समेत जनाएका थिए । उनले व्यापार घाटाका कारण अमेरिकाको उत्पादनमा ह्रास आएको भन्दै ट्वीटरमा यो समस्यासँग लड्न कडा कदम चाल्ने बताएका छन् । ट्रम्पले आफ्नो यो कदमबाट उत्पादक राज्यका मतदातालाई लोभ्याउने कोशिस समेत गर्नेछन् ।

 

के हो व्यापार घाटा ?

दुई देशबीच आयात र निर्यातमा जुन अन्तर हुन्छ, त्यसलाई ‘ट्रेड डेफिसिट’ अर्थात व्यापार घाटा भनिन्छ । अमेरिका र चीनकोबीचमा ठूलो व्यापार घाटा छ । यसको मतलब चीन अमेरिकामा भारी मात्रामा आफ्ना उत्पादन बेच्छ र अमेरिकी उत्पादन निकै कम मात्रमा खरिद गर्छ । गत बर्ष यो अन्तर ३७५ अर्ब अमेरिकी डलर थियो । ट्रम्प यो स्थितीसँग विल्कुलै खुसी छैनन् र व्यापार घाटा कम गर्न चाहान्छन् । यो स्थितीको अन्त्य गर्न उनले करको सहयोग लिन लागेका हुन् ।

अमेरिकाले २०१७ मा २४२ अर्ब डलरको सेवा क्षेत्रमा निर्यात गरेको थियो, जुन बैकिङ, ट्राभल र टुरिजमको क्षेत्रमा आधारित थियो । अमेरिकी अर्थव्यवस्थामा सर्भिस सेक्टरको योगदान ९० प्रतिशत छ । चीन आफ्नो उत्पादनमा अब्बल छ । यही कारणले दुई देशबीच व्यापार घाटा बढ्दो छ । यस्तो अवस्थामा ट्रम्पको व्यापार घाटावाला कुरा कमै मानिसले मात्र बुझ्छन् । आलोचकहरू ट्रम्प प्रशासनको यो कुरालाई ‘संरक्षणवाद’को आरोप लगाउँछन् ।

 

के हो संरक्षणवाद ?

जब सरकार आफ्नो देशमा उद्योग र उत्पादन बढाउन विदेशी सामानमा धेरै प्रकारका प्रतिबन्ध लगाउँछ, तब सरकारको यस्तो कदमलाई ‘संरक्षणवाद’ भनिन्छ । ट्रम्पले स्टील र आल्मुनियमको क्षेत्रमा कर लगाएका छन् ।

 

ट्रम्पले चीन माथि लगाए ६० अर्ब डलरको कर

मार्चको शुरूवातमा चीन विरूद्ध हालको कदम उठाउनु अघि ट्रम्पले चीनबाट अायत हुने सबै स्टिलमा २५ प्रतिशत र आल्मुनियममा १० प्रतिशत कर लगाएका थिए । अमेरिका धातुका लागि दोस्रो देशहरूमा ज्यादा निर्भर रहेको र यो अभियान सफल भए आफ्ना उद्योगका कारण पर्याप्त हतियार बनाउन सकिने ट्रम्प प्रशासनको दावी छ । तर आलोचकहरूले अमिरिकाले सबैभन्दा बढी स्टिल क्यानडा र युरोपियन युनियनबाट ल्याउँने र  ती देशसँग अमेरिकाको राम्रो सम्बन्ध विगार्न खाेजिएकाे अाराेप लगाइरहेका छन् ।

सैद्धान्तिकरूमा विदेशी स्टिल र आल्मुनियममा कर लगाउदा अमेरिकी ठूला कम्पनीले स्थानीय कम्पनीसँग स्टिल खरिद गर्छन् भन्ने हो । कर लगाउने निर्णयका कारण अमेरिका स्टिल र आल्मुनियम उद्योगलाई फाइदा पुग्ने बताइन्छ । किनकी अधिकांश ठूला कम्पनीले स्वदेशी कम्पनीको उत्पादन खरिद गर्नेछन् ।

यसले अमेरिकी स्टिल कम्पनीलाई फाइदा पुग्ने मात्रै होइन नयाँ रोजगारीको अवसर समेत सिर्जना हुनेछ । तर कार र हवाई जहाज बनाउने कम्पनीलाई आवश्यकता पर्ने कच्चा पदार्थमा कर लगाउँदा उत्पादनको मूल्य बढ्न सक्नेछ । कम्पनीले आफ्नो अन्तिम उत्पादनको मूल्य बढाउने हुँदा उपभोक्ता मारमा पर्नेछन् । यही कारणले कारण अमेरिकामा कार, ग्याजेट्स, प्लेन टिकट र वियरको दाम बढ्न सक्नेछ ।

 

संसारलाई पर्नेछ असर !

अमेरिकाको यो कदमले विश्वलाई प्रभावित पार्न सक्छ । किनकी चीनले पनि अमेरिकाको यो कदमको जवाफ दिने निर्णय गरेको छ । संसारको दोस्रो ठूलो अर्थव्यवस्था चीनले अमेरिकी कृषि र औद्योगिक उत्पादन, जस्तैः सोयाबिन, पोर्क, कटन, हवाईजहाज, कार र स्टिल पाइपमा कर लगाउने योजना बनाइरहेको छ । चीनले अमेरिकी प्रविधी कम्पनी जस्तैः एप्पल माथि पनि कर लगाउन सक्छ । जसका कारण एप्पलका उत्पादनको मूल्य बढ्न सक्छ ।

 

अहिले स्टिल कर चीनमा लगाइएपनि युरोपियन युनियन, अर्जेन्टिना, अस्ट्रलिया, ब्राजिल, क्यानडा, मेक्सिको र दक्षिण कोरियालाई भने राहत दिइएको छ । तर ‘ग्लोबल ट्रेड वार’ को शुरूवात भएमा संसारभरका कम्पनीका लागि काम गर्न मुस्किल हुनेछ । उनीहरू आफ्ना उत्पादनको मूल्य बढाउन बाध्य हुनेछन् ।

 

के ‘फ्रि ट्रेड’ राम्रो हो ?

‘फ्रि ट्रेड’ संरक्षणवादको विपरित हो । ‘फ्रि ट्रेड’ भनेको उत्पादनमा थोरै कर लगाउने र सस्तो मूल्यमा समान बेच्नु हो । ‘फ्रि ट्रेड’का माध्यमबाट संसारभरबाट उत्पादन खरिद गर्न सकियोस्, त्यो पनि कम दाममा । त्यसले कम्पनीलाई फाइदा पुग्छ, जसले लागत कम गर्ने कोशिश गर्छन् । यसका साथै यसले संसारको अर्थव्यवस्थालाई फाइदा पुग्छ ।

 

‘फ्रि ट्रेड’ले कार, स्मार्ट फोन, खाद्य उत्पादन देखि लिएर फुल जस्ता चिज तपाईको घरसम्म ल्याएको छ । तर यस्ता उत्पादन बनाउने कम्पनी स्वदेशी कच्चा पदार्थ उपयोग गर्छन् । यसले अर्को समस्या खडा गर्छ । त्यो हो विदेशी सामान सस्तोमा उपलव्ध हुन्छ भने स्वदेशी उत्पादन किन खरिद गर्ने ? यसको असर समृद्ध देशमा देखिन्छ । जहाँ रोजगारीको अवसर ज्यादै न्यून हुनपुग्छ । ‘फ्रि ट्रेड’ले केही मानिसलाई धनी बनाएको छ भने धेरैलाई गरिब पनि बनाएको छ ।

 

‘ट्रेड वार’ कसरी अन्त्य हुन्छ ?

लगाइएकाे करका कारण उपभोक्ताहरू मारमा पर्नेछन् । सामानको मूल्य ह्वात्तै बढ्नेछ । सोही कारण अर्थशास्त्रीहरू ट्रम्प प्रशासनको यो कदमको विपक्षमा छन् ।

 

रिपब्लिकन पार्टी पनि यो मुद्धामा ट्रम्पको विरूद्धमा छ, कनकी उ ‘फ्रि ट्रेड’को पक्षमा छ । ट्रम्पले चीनको विरूद्धमा यो कदम उठाउँदा दुवै देश र संसारभरका उपभोक्तलाई नोक्सान पुग्छ । संसारका दुई ठूला अर्थव्यवस्थाकाबीच ‘ट्रेड वार’ कसैका लागि पनि शुभसंकेत होइन । बीबीसी

विशेष