स्पेन र जर्मनीकाे विश्वकप यात्रामा कसकाे पल्ला भारी ? यस्ताे रह्याे अवस्था
यसअघिका दुई विश्वकप फुटबलका विजेता जर्मनी र स्पेनले विश्वकप फुटबल २०१८ को तयारी अन्तर्गत शुक्रबार राति भएको खेलमा रोमाञ्चक बराबरी खेलेका छन् । जर्मनी सन् २०१४ को विश्वकप विजेता हो भने स्पेन २०१० को विजेता हो ।
खेलमा अग्रता ८ वर्षअघिको विश्व विजेता स्पेनले लियो । छैटौँ मिनेटमा रोड्रिगोको गोलबाट स्पेनले अग्रता लिएको हो । रोड्रिगोले आन्द्रेस इनिएस्टाको पासमा गोल गरेका हुन् ।
तर चार वर्षअघिको विश्वविजेता जर्मनीले स्पेनको अग्रता धेरै बेर रहन दिए । ३५ औँ मिनेटमा थोमस मुलरले जर्मनीका लागि बराबरी गोल फर्काए ।
दोस्रो हाफमा दुवै तर्फबाट गोल भएन । जर्मनी र स्पेन दुवै सन् २०१६ को युरोकप यता अपराजित छन् । जर्मनीले पछिल्ला २२ खेलमा हार बेहोरेको छैन भने स्पेनले पछिल्ला १७ खेलमा कि जित निकालेको छ कि त बराबरी गरेको छ । अब आउँदो मंगलबार जर्मनीले ब्राजिल तथा स्पेनले अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्ने छन् ।
मैत्रीपूर्ण खेल अन्तर्गत शुक्रबार राति नै भएको खेलमा इंग्ल्याण्डले नेदरल्याण्डसलाई १-० ले हराएको छ । ५९ औँ मिनेटमा जेसी लिङ्गार्डले गरेको गोल नै इंग्ल्याण्डको जितमा निर्णायक बन्यो ।
यस्तै अरु खेलमा टर्कीले रिपब्लिक अफ आयरल्याण्ड, कोस्टारिकाले स्कटल्याण्ड तथा बेलारुसले अजरबैजानलाई समान १-० ले हरायो ।
यस्तै गरी जापान र माली तथा सेनेगल र उज्वेकिस्तानले समान १-१ तथा साइप्रस र मन्टेनेग्रो तथा फिनल्याण्ड र मेसेडोनियाले गोलरहित बराबरी खेले ।