उपमेयरले कुटिन् वडाध्यक्ष र सदस्यलार्इ
सुनसरी । सुनसरीको दुहबी नगरपालिका उपमेयर सुनिता दाहाल साहले वडाध्यक्ष र सदस्यमाथि हातपात गरेकी छन् ।
स्थानीयस्तरका विवाद मिलाउने न्यायिक समितिको संयोजकसमेत रहेकी उपमेयर साहले शुक्रबार दुहबी नगरपालिका वडा नम्बर ५ का अध्यक्ष तथा सदस्यलाई कुटपिट गरेकी हुन् ।
वडा नम्बर ५ मा रहेको सरस्वती उच्च मावि खेल मैदानको निर्माणसम्बन्धी अनुगमनका लागि नगरपालिका पुगेका वडाध्यक्ष रमेश रौनियार र सदस्य कृष्ण तामाङमाथि नगरपालिका परिसरमै कुटपिट भएको हो ।
खेल मैदानको निर्माण कार्य सम्पन्न भइसकेको र अनुगमन गरी बजेट फर्छ्यौटको प्रक्रिया अघि बढाइदिन आग्रह गरेपछि दुवै पक्षबीच विवाद उत्पन्न भएको थियो । विवादले उग्र रुप लिँदै गर्दा उपमेयर साहले आफ्ना श्रीमान् सुनिल साहलाई बोलाएर एकाएक कुटपिट गरेको वडा सदस्य तामाङले बताए ।
निर्माणसम्बन्धी फाइलसमेत उपमेयर साहले नियन्त्रणमा लिर्इ विकास निर्माणको कामलाई रोकेको अर्का पीडित वडाध्यक्ष रमेश रौनियारले गुनासो गरे ।
घटना भएपछि आक्रोशित सर्वसाधरणले दुहबी नगरपालिका दिनभर घेराउ गरे त्यसैगरी घटनाको विषयमा जानकारी दिँदै नगरपालिकाका मेयर वेद गच्छदारले उपमेयरको बचाउ गर्दै कुटपिट नभएको र सामान्य विवाद भएको उल्लेख गरे ।
तथापि उक्त घटनामा कुटपिट भएको भिडियो सार्वजनिक भएपछि मेयर गच्छदारले गल्ती स्वीकार गरे । उनले भने, ‘गल्ती भएको रहेछ, जनप्रतिनिधिले नै यसरी कुटपिट गर्नु अशाेभनीय हो ।’