अब संसद्मा मन्त्री र सांसदबीच प्रश्नोत्तर
काठमाडाैं । संघीय संसद्मा सरकारका मन्त्री र सांसदबीच प्रश्नोत्तर गर्ने गरी नियमावली बनाउने गृहकार्य संसदीय समितिले अघि बढाएको छ ।
प्रतिनिधिसभाको नियमावली बनाउन गठित मस्यौदा समितिले सांसदले उठाएका प्रश्न तथा जनताका सवाललाई तत्काल सरकारले जवाफ दिनुपर्ने नियम बनाउने तयारी गरेको हो ।
यसअघिको संसद्को शून्य समयमा सांसदले उठाएका सवाललाई सरकारले गम्भीरताका साथ नलिएको भन्दै यस्तो नियम बनाउनेतर्फ छलफल अघि बढेको समिति सभापति कृष्णभक्त पोखरेलले बताए ।
‘अबको संसद्लाई बढी नै जनताप्रति उत्तरदायी बनाउन सांसद र सरकारबीच तत्काल प्रश्नोत्तर गर्ने नियम बनाउने समितिको छलफलको विषय छ,’ उनले भने ।
एमालेका नेता पाेखरेल प्रतिनिधिसभा नियमावली मस्यौदा समिति सभापतिमा शुक्रबार नै चयन भएका हुन् ।