रसियन युवती भारत तस्कर गर्ने नेपाली एजेन्ट पक्राउ
काठमाडौं । प्रहरीले रसियन युवतीलाई नेपालको बाटो भएर भारत तस्करी गर्ने क्रममा एक नेपाली एजेन्टलाई पक्राउ गरेको छ । रुपन्देही प्रहरीले तस्करका नेपाली एजेन्ट बब्लु मिया सिद्धिकीलाई पक्राउ गरेको हो ।
प्रहरीले दुई जना रसियन युवती यसवती नागिदा र कुन्देश खारमनीलाई उद्धारसमेत गरेको छ । सिद्धिकीले भैरहवा क्षेत्रबाट युवतीलाई भारत तस्कर गर्न सहयोगी भूमिका खेलेको एसपी श्यामलाल ज्ञवालीले जानकारी दिएका छन् ।
एसपी ज्ञवालीका अनुसार तस्करहरुले भारतमा राम्रो कमाइ हुने विश्वास दिलाई विदेशी यवतीलाई नयाँ दिल्ली पुर्याउने र त्यहाँ उनीहरुलाई यौन व्यवासय गर्न बाध्य बनाउने गर्छन् ।
बब्लुले एक साताअघि पनि ३ जना रसियन युवतीलाई सुनौली नाका हुँदै नयाँ दिल्ली पुर्याएको प्रहरीको भनाइ छ । उनले युवतीहरुलाई नक्कली भिसा बनाउन यातायात खर्च र भारतीय प्रहरीलाई घुस दिनका लागि भन्दै एक विदेशी युवतीसँग ५ लाख रुपैयाँ उठाउँदै आएका थिए ।