News समाज

कर्णाली प्रदेशका सरकारी कर्मचारीहरू चाँडै फेसबुकमुक्त हुने

मुख्यमन्त्री शाहीले इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रमुखहरुलाई कार्यालयमै बोलाएर के भने

कर्णाली प्रदेशका सरकारी कर्मचारीहरू चाँडै फेसबुकमुक्त हुने

कर्णाली प्रदेशका सरकारी कार्यालयहरुमा फेसबुक चलाउन प्रतिबन्ध लगाउन गृहकार्य सुरु भएको छ ।

 

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कार्यालय समयमा मात्रै फेसबुक चलाउन प्रतिबन्ध लगाउनेबारे आइतबारबाट छलफल सुरु गरेका हुन् ।

 

मुख्यमन्त्री शाहीले आइतबार सुर्खेतका इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रमुखहरुलाई कार्यालयमै बोलाएर छलफल गरेका छन् । ‘कार्यालय समयमा फेसबुकमा प्रतिबन्ध लगाउने तयारीमा छौं,’ मुख्यमन्त्री शाहीले भने,’त्यसैका लागि आज बिहान इन्टरनेट सेवा प्रदायक केही कम्पनीका प्रमुखसँग कार्यालयमै छलफल भएको हो ।’

 

छलफलपछि अबको केही दिनमै जनतासँग सम्बन्ध राख्ने सरकारी कार्यालयहरुमा बिहान १० देखि ४ बजेसम्म फेसबुक बन्द हुने मुख्यमन्त्री शाहीले बताए ।

 

कार्यालय समयमा फेसबुक बन्द गर्नका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नै आधिकारिक रुपमा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई पत्र पठाउने छ ।

 

पत्र प्राप्त भएपछि सम्बन्धित कम्पनीहरुले १० देखि ४ बजेको समयमा फेसबुक नचल्ने व्यवस्था मिलाइदिने गरी छलफल भएको मुख्यमन्त्री शाहीले बताए ।

 

मुख्यमन्त्री शाहीले काठमाडौंमा आयोजित पत्रकार सम्मेलनबाट कार्यालय समयमा फेसबुक बन्द गर्ने उद्घोष गरेका थिए ।

 

यसपछि विद्यालयहरुमा पनि फेसबुक चलाउन यसरी नै प्रतिबन्ध लगाउने तयारी गरिएको मुख्यमन्त्री शाहीले बताएका छन् ।

विशेष