News स्वास्थ्य

तंग्रिँदै सिंहदरबार वैद्यखाना

नेत्र पाैडेल

तंग्रिँदै सिंहदरबार वैद्यखाना

काठमाडौं । मागअनुसार आयुर्वेदिक औषधि उत्पादन गर्न नसकेर ओरालो लागेको चार सय वर्ष पुरानो सरकारी स्वामित्वको सिंहदरबार वैद्यखानाले गति लिन थालेको छ ।

 

वैद्यखानाले २ करोड ३२ लाखको आयुर्वेदिक औषधि उत्पान गर्ने लक्ष्यका साथ काम गरिरहेको सिंहदरबार वैद्यखानाका प्रबन्ध निर्देशक वंशदीप शर्मा खरेलले जानकारी दिए । व्यवस्थापकीय कमजोरीका कारण क्रमिक रुपमा धराशयी बनेको वैद्यखाना अहिले पुनः उही रफ्तारमा उत्रिएको छ ।

 

औषधि उत्पादनको कार्य धमाधम भइरहेको छ । वैद्यखानामा नयाँ औषधि र प्रविधिको प्रयोगले उत्पादन बढ्दै गइरहेको छ । उत्पादित औषधि सरकारलाई निःशुल्क उपलब्ध गराउने शर्तमा धमाधम काम भइरहेको निर्देशक शर्माले नेपाल आजलाई बताए ।

 

‘विगतमा सिंहदबार वैद्यखानाले स्वदेशी जडीबुटी प्रयोग गरेर १ सय ८५ प्रकारका आयुर्वेदिक औषधि उत्पादन गर्दै आए पनि तत्काल ८५ थरीका औषधि मात्र उत्पादन गरिरहेको छ ।’ प्रबन्ध निर्देशक शर्मा भन्छन्, ‘स्वास्थ्य मन्त्रालयसँग तीन महिनाको सम्झौता गरेर अहिले धमाधम औषधि उत्पादन गरिरहेका छौं ।’


एकताका स्वदेश तथा विदेशमा समेत वैद्यखानाबाट उत्पादित औषधिले ख्याति कमाइसके पनि पछिल्लो समय आन्तरिक व्यवस्थापकीय कमजोरी र पछिल्लो समय भारतीय योग गुरु बाबा रामदेवको आयुर्वेदिक ब्रान्ड पतञ्जलीले बजारमा निकै प्रभाव पार्न थालेपछि यसलाई पुरानो साख जोगाउन निकै चुनौती खेप्नुपर्ने देखिन्छ ।

 

व्यवसाय प्रवद्र्धनका लागि नेपाल आएका भारतीय योगगुरु रामदेवले नेपालको आयुर्वेदिक औषधि उत्पादनमा पाँच अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेका छन् । रामदेवले नेपालको आयुर्वेदमा डेढ अर्ब रुपैयाँ लगानी गरिसकेको उल्लेख गरेका छन् ।

 

वैद्यखानाबाट उत्पादित औषधिलाई रामदेवका उत्पादनसँग कडा प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आएको छ । समयमा जडीबुटी नपाउनु पनि सिंहदरबार वैद्यखानाको अर्को समस्या र चुनौती दुवै ठान्छन् शर्मा खरेल । भन्छन्, ‘सरकारले जडीबुटी प्रवर्द्धन चासो नदेखाएका कारण नै जडीबुटी अभावमा समस्या आएको हो ।’

 

त्यसैले पछिल्लो समय सिंहदरबार वैद्यखानाले भनेकै समयमा भनेकै गुणस्तरको उत्पादन दिन नसकेको उनले स्वीकारे । अहिले वैद्यखाना चार पाँच जना ठेकेदारका भरमा जडीबुटीजन्य कच्चा पद्धार्थ खरिद गरी औषधि उत्पादन गर्दै आएको छ ।

 

विशेष