विदेश मुख्य समाचार

उत्तर कोरिया संसारकै लागि त्रास : ओबामा

उत्तर कोरिया संसारकै लागि त्रास : ओबामा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनलाई भेट्ने तयारी भइरहेका बेला अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामालले उत्तर कोरिया संसारकै लागि एउटा ठूलो त्रास भएको बताएका छन्।

 

जापान भ्रमणमा रहेका ओबामाले भने, 'उत्तर कोरियाले आणविक अस्त्रहरुको उत्पादन र परीक्षण गर्ने गरिरहेको छ, यो एसियाका लागि मात्र नभएर संसारकै लागि एउटा ठूलो त्रास बनेको छ।'

 

जापान भ्रमणमा रहेका पूर्व राष्ट्रपति ओबामाले आइतबार राजधानी टोकियोमा आयोजित एक कार्यक्रममा सो धारणा राखेका हुन्। 'हामीले अहिले पनि उसका आणविक कार्यक्रमहरु र धम्कीका बारेमा सुनेका छौँ तर पनि यसको समाधानका लागि कुनै पहल गरेको सुनेका छैनौँ', उनले भने।

 

राष्ट्रपति ओबामाले भने, 'उत्तर कोरियाले यस्तो प्रणालीको विकास गरिरहेको छ कि त्यसले विश्वलाई प्रतिदिन धम्कीमात्र दिइरहेको छ, तर त्यस समस्या समाधानका लागि कुनै एकमात्र देशले मात्र केही गर्न पनि सक्दैन।'

 

ओबामा प्रशासनका बेलामा उत्तर कोरियालाई संसारबाटै एक्ल्याउने रणनीति अपनाइएको र उसमाथि आर्थिक नाकाबन्दी लगाइएको जानकारी पनि उनले जानकारी दिए। यसबाट उत्तर कोरिया संसारबाटै एक्लिने मात्र नभएर आर्थिक रुपमा पनि घुँडा टेक्ने र अन्त्यमा उसले सबै हातहतियार त्याग्ने अनुमान गरिएको उनले बताए।

 

ओबामा र जापानी प्रधानमन्त्री सिन्जो आबेबीच भेटवार्ता भएको थियो। त्यस अवसरमा दुई देशबीचको आर्थिक लगानी र सम्झौताका विषयमा छलफल भएको बताइएको छ।

विशेष