News समाज

सामाखुशीदेखि माछापोखरीसम्म ट्राफिक जनचेतनामूलक बोर्ड निर्माण

सामाखुशीदेखि माछापोखरीसम्म ट्राफिक जनचेतनामूलक बोर्ड निर्माण

काठमाडौँ । संस्कार समाज नेपालले सामाखुशीदेखि माछापोखरी चोकसम्म ट्राफिक जनचेतनामूलक बोर्ड निर्माण गरेको छ ।

 

‘असल संस्कार सिकौँ, सिकाऔँ, आफ्नो देश आफैं बनाऔँ’ भन्ने मूल नाराका साथ एक वर्षदेखि सामाजिक काम गर्दै आएको समाजले आज लाइनमा बसेर बस चढौँ, ट्राफिक नियमको पालना गरौँलगायत सामग्री लेखिएका जनचेतनामूलक बोर्ड निर्माण गरेको हो ।

 

समाजले महानगरीय प्रहरी प्रभाग गोँगबुको सहकार्यमा १३ स्थानमा जनचेतनामूलक बोर्ड निर्माण गरेको हो । सकारात्मक सोचमा विकास भएमात्र समाज विकास हुने भन्दै सामाजिक कामका लागि बोर्ड निर्माण गरिएको समाजका अध्यक्ष पशुपति गुरुङले जानकारी दिए । “उक्त कार्यले मानिसको व्यवहारमा परिवर्तन आउनुका साथै सकारात्मक सोचको निर्माण हुनेछ,”– अध्यक्ष गुरुङले भने ।

 

प्रभागका प्रमुख प्रताप पौडेलले गोँगबु क्षेत्रलाई नमूना क्षेत्रको रुपमा निर्माण गर्नका लागि प्रभागले विभिन्न संघ संस्थासँग सहकार्य गरेर विभिन्न काम गरिरहेको बताए ।

 

समाजले प्रत्येक शनिबार सरसफाइ गर्ने, ट्राफिक नियमसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, सकारात्मक परिवर्तनका लागि नैतिक शिक्षा प्रदान गर्नेलगायत सामाजिक काम गर्दै आइरहेको समाजकी सचिव चन्दा पाठकले जानकारी दिए ।(रासस)

विशेष