News समाज

आज रामनवमी, देशभर राम मन्दिरमा पूजा आजा गरि मनाइँदै

आज रामनवमी, देशभर राम मन्दिरमा पूजा आजा गरि मनाइँदै

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ ।

 

त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीका सुपुत्रका रुपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । चैत्र शुक्ल पक्ष नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् श्रीरामको जन्मदिनका रुपमा मनाउने गरिन्छ ।

 

वैदिक सनातन धर्म मान्ने समाजमा राम नवमीको स्थान महत्वपूर्ण छ । राम नवमीका अवसरमा नेपालको जनकपुर र भारतको अयोध्यामा रामलीला प्रदर्शन गरिन्छ । रामनवमीका दिन देवी पूजा गरी रामचन्द्रको पूजापाठ एवम् आराधना गरेमा ‘श्री’ प्राप्त हुने शास्त्रीय मान्यता छ ।

 

नेपालमा रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामको पूजा आराधना गरी मनाइँदै छ । रामको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । भनिन्छ, गोस्वामी तुलसीदासले रामचरितमानसको रचना आरम्भ पनि यसै दिन गरेका थिए ।

 

त्रेता युगमा मर्यादा पुरुषोत्तमका रूपमा सुपरिचित राम सूर्यवंशी राजा दशरथले गरेको पुत्रेष्टि यज्ञको प्रसादस्वरूप दशरथकी जेठी रानी कौशल्यावतीको गर्भबाट जन्मिएका हुन् ।

 

रामले मिथिलाका राजा जनकको प्रतिज्ञाअनुसार शिवधनु भाँचेर सीतालाई पत्नी रूपमा प्राप्त गरे । सीतालाई हिन्दूहरू लक्ष्मीको साक्षात् रूप मान्छन् भने रामलाई क्षितिपालक भुषण परमात्मा स्वरूप मान्दछन् ।

 

रामको जीवनकाल र पराक्रम महर्षिवाल्मीकिद्वारा रचित संस्कृत महाकाव्य रामायणमा वणिर्त छ । तुलसीदासले पनि भक्ति काव्यका रूपमा श्री रामचरितमानसको रचना गरेका थिए ।

 

नेपालमा पनि आदिकवि भानुभक्त रामायणकै कारण ख्यातिप्राप्त छन् । राम उत्तर भारत र नेपालमा धेरै पूजनीय छन् । उनी हिन्दूहृदय सम्राट् तथा आदर्श पुरुष हुन् । आज सरकारले सार्वजनिक विदा दिएको छ ।

विशेष