शिक्षण अस्पतालले तिरेन भरतपुर अस्पतालकाे जग्गाबापतकाे भाडा
१ कराेड ५० लाख तिर्न बाँकी
कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) ले जग्गा भाडाबापत भरतपुर अस्पताललालाई रु एक करोड ५० लाख तिर्न बाँकी रहेको देखिएकाे छ ।
भरतपुर अस्पतालले आज यहाँ पत्रकार सम्मेलन गरी मेडिकल कलेजले लामो समयदेखि विभिन्न बहाना बनाई अस्पताललाई तिर्नुपर्ने रकम नतिरेको जानकारी दिएको हो ।
अस्पताल विकास समितिका अध्यक्ष राजकुमार राजभण्डारीले मेडिकल कलेजले भरतपुर अस्पताललाई तिर्नुपर्ने बक्यौता रकममध्ये महालेखा परीक्षकको कार्यालयले प्रचलित ऐनबमोजिम औँल्याएको बेरुजु रु ६७ लाख र अस्पताललाई दिनुपर्ने सम्झौताबमोजिमको बक्यौता रकमसमेत गरी करिब रु एक करोड ५० लाखभन्दा बढी बक्यौता देखिएको बताए ।
विसं २०५२ सालमा नेपाल सरकारसँग सम्झौता गरी भरतपुर अस्पतालको नौ बिघा जग्गा भाडामा लिएर भारतीयले मेडिकल कलेज सञ्चालन गरेका छन् । शुरुवातको समयमा प्रतिबिघा प्रतिवर्ष ५० हजार भाडा दिने सम्झौता भएको थियो ।
सम्झौताको समयमा पाँच वर्षपछि प्रत्येक वर्ष १० प्रतिशतका दरले भाडा वृद्धि गर्ने शर्त रहेको अध्यक्ष राजभण्डारीले बताए । तर विसं २०६३ सालमा तत्कालीन अस्पताल विकास समितिका अध्यक्ष बद्री तिमिल्सिनाले १० प्रतिशत वृद्धि हुने प्रावधान खारेज गरेका उनले बताए ।
यसबाट अस्पताललाई ठूलो आर्थिक क्षति भएको छ, अध्यक्ष राजभण्डारीले भने, ‘यो निर्णय अस्पतालकै इतिहासमा घातक र हानिकारक भएको छ ।’
पुरानो सम्झौतालाई पुनरवलोकन गर्न अस्पतालले पटकपटक आग्रह गरे पनि मेडिकल कलेजले अटेर गर्दै आएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा रुद्रप्रसाद मरासिनीले बताए । उनले सम्झौता पुनरवलोकन नभएसम्म मेडिकल कलेजलाई अस्पतालमा प्रयोगात्मक कक्षा पनि नदिइएको बताए ।
अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष विजय सुवेदीले २०६३ मा सम्झौता संशोधन नभएको भए अहिले अस्पतालले प्रतिबिघा वार्षिक रु दुई लाख २५ हजार पाउन सक्ने बताए । अस्पतालले पाउनुपर्ने रकम मेडिकल कलेजले नियमित तिर्नुपर्ने आफ्नो त्यतिबेलाको अडान कायमै रहेको उनले बताए ।