दुईतिहाइ पुर्याउन ओली कसरत
काठमाडौं । एमाले र माओवादी केन्द्र जसरी पनि संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउने प्रयास गर्दै त्यसका लागि संविधान संशोधनको अजेन्डामा सहमति गर्न तयार भएका छन् ।
बिहीबार एमाले– माओवादी केन्द्र र फोरमबीचको बैठकमा सत्तापक्ष फोरमलाई दुई महत्वपूर्ण मन्त्रालय दिन तयार भएका छन् । एमाले संविधान संशोधन गर्न र दुई मन्त्रालय दिन तयार भएको फोरमका एक नेताले बताए ।
तर, फोरमको माग भने उपप्रधानमन्त्रीसहित तीन महत्वपूर्ण मन्त्रालय पाउनुुपर्ने रहेको ती नेताले जनाए । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने उपप्रधानमन्त्री नराख्ने पक्षमा छन् ।
त्यसैअनुसार उनले आफ्नै पार्टी महासचिव ईश्वर पोखरेल र माओवादी केन्द्रका नेता रामबहादुर थापालाई मन्त्रीमै सीमित गराएका छन्। एमाले, माओवादी केन्द्र र फोरमबीच बिहीबार सहमति गर्ने तयारी भए पनि वार्ता निर्णायक हुन सकेन ।
अर्को वार्ता शनिबार हुने र त्यो निर्णायक हुने नेताहरूले बताएका छन् । एमालेका नेता सुवास नेम्बाङले फोरम अध्यक्ष उपेन्द्र यादवले होली मनाउन आफू गृहजिल्ला जानुपर्ने बताएपछि अर्को वार्ता शनिबार साँझ बस्नेगरी टुगिंएको जानकारी दिए । याे खबर अाजकाे नागरिक दैनिकमा छ ।