प्रदेश ३ मा अाज कार्यव्यवस्था समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
हेटौँडा । प्रदेश ३ को बैठक सञ्चालनका लागि कार्यव्यवस्था समितिको बैठक सोमबार बस्दैछ। लामो समयपछि मंगलबार बस्न लागेको बैठकको तयारीका लागि कार्यव्यवस्था समितिको बैठक सोमबार दिउँसो बस्न लागेको हो।
बैठकले मंगलबारको प्रदेशसभा बैठकको कार्यसूची तय गर्ने प्रदेशसभा सचिवालयका सचिव भारतकुमार बुढाथोकीले जानकारी दिए। उनका अनुसार कार्यसूची तय भएपछि मंगलबार दिउँसो ३ बजेका लागि बैठक बोलाउने तयारी प्रदेशसभा सचिवालयको छ।
प्रदेशसभा बैठकमा प्रदेश सरकारको आर्थिक कार्यविधि, स्थानीय तहका पदाधिकारीको सेवा सुविधा, केही सार्वजनिक लिखत प्रमाणीकरणसम्बन्धी विधेयक सहितका विधेयक संसदमा प्रस्तुत हुनेछ।
प्रदेश सरकारले चैत २० गतेभित्र चालु आर्थिक वर्षको बजेट एवं नीति तथा कार्यक्रम ल्याउने तयारी गरिरहेको छ।