News राजनीति

कांग्रेस समितिको बैठक अाज पनि, पदाधिकारी पछिको पहिलो वरियता क्रम मुख्य एजेण्डा

कांग्रेस समितिको बैठक अाज पनि, पदाधिकारी पछिको पहिलो वरियता क्रम मुख्य एजेण्डा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक अाज पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ९ बजेपछि बस्ने बैठकमा बोल्न बाँकी केन्द्रीय सदस्यले धारणा राख्ने छन् ।

 

राम नवमी परेकाले आइतबारका लागि बैठक स्थगित गरिएकाे थियाे । प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनाव सकिएको चार महिनापछि भएको बैठकमा कांग्रेसका सदस्यले आफ्नो धारणा राखिरहेका छन् ।

 

चुनावमा ब्यहोर्नुपरेको पराजयको कारण खोज्दै भावी रणनीति बनाउन गएको शुक्रबारदेखि बसेको केन्द्रीय कार्यसमितिको बैठकमा संस्थापन पक्षका नेताले पार्टी सभापति शेरबहादुर देउवाकाे बचाउ गरिरहेका छन् भने रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षका नेता कडा अालाेचनामा उत्रिएका छन् ।

 

८५ सदस्यीय कांग्रेस केन्द्रीय समिति बैठकमा शुक्रबार तीन तथा दोस्रो दिन शनिबार सातजनाले बोलेका थिए । आइतबारको बिदापछि सोमबार बस्न लागेको बैठकमा थप सदस्यले बोल्ने क्रम चल्नेछ ।

 

गोपालमान श्रेष्ठलाई पदाधिकारी पछिको पहिलो वरियता क्रममा राख्ने प्रस्ताव गरेपछि संस्थापनइतर पक्षले अापत्ति जनाएकाेले सोमबार यहि विषयबाट बैठकलाई अगाडि बढाउने नेताहरुले बताएका छन् ।

विशेष