अग्नि र ब्रह्मोसको सामना कसरी ?
काठमाडाैं । चीन र पाकिस्तानबीचको सम्बन्धले एकपटक फेरि संसारको ध्यान खिचेको छ । चीनले पाकिस्तानलाई एक यस्तो शक्तिशाली यन्त्र बेचेको छ, जसको उपयोगबाट आकाशमा तेज गतिको मिसाइल सजिलै पत्ता लगाउन सकिन्छ । चीनको यस मद्दतबाट यसले पाकिस्तानलाई उसको मिसाइल कार्यक्रमलाई विकसित र थप प्रभावकारी बनाउन सहयोग पुग्नेछ । चाइनिज एकेडेमी अफ साइन्सेज (सिएएस) अनुसार पाकिस्तानलाई यस्तो संवेदनशील यन्त्र दिने चीन पहिलो देश हो ।
सिएएसमा इन्स्टिच्युट अफ अप्टिक्स एन्ड इलेक्ट्रोनिक्सका एक शोधकर्ता झेङ मेङवेइले साउथ चाइना मर्निङ पोस्टलाई यसबारे जानकारी दिएका हुन् । संस्थानका अनुसार चीनको यो यन्त्र प्राविधिक रूपमा निकै राम्रो भएको र यसले निकै टाढाको दूरीसम्म मिसाइल पत्ता लगाउन सक्छ ।
रिपोर्टका अनुसार पाकिस्तानी सेनाले आफ्नो नयाँ मिसाइललाई परीक्षण गर्न र त्यसलाई विकसित गर्नका लागि यसको उपयोग गर्न पनि सुरु गरेको छ । यस यन्त्रको सहयोगबाट पाकिस्तानले एकैपटक कैयौँ दिशामा मिसाइल पत्ता लगाउन सक्छ । मिसाइल परीक्षणमा यो निकै ठूलो समस्या हुने गर्छ ।
यस यन्त्रमा अत्यन्त लामो दूरीसम्म देख्न सकिने टेलिस्कोप जडान गरिएको छ, जुन हाई स्पिड क्यामेरायुक्त छ । यसबाट सजिलै ‘इन्फ्रारेड’ पत्ता लगाउन सकिन्छ । र, यसका कम्प्युटरले सजिलै आकाशमा शत्रुका तीव्र गतिका मिसाइल पत्ता लगाएर त्यसको पिछा गर्न सक्छन् ।
भारतमा असर
चीन र पाकिस्तानबीचको यस व्यापारलाई भरातको अग्नि–५ मिसाइलसित जोडेर पनि हेरिँदै छ । भारतले जनवरीमा उडिसाको समुद्री तटनिकट अब्दुल कलाम द्वीपबाट लामो दूरीवाला अग्नि–५ इन्टरकन्टिनेन्टल ब्यालेस्टी मिसाइलको सफल परीक्षण गरेको थियो । जमिनबाट जमिनसम्म प्रहार गर्न सक्षम यो मिसाइलले पाँच हजार किलोमिटरसम्म निसाना लगाउन सक्छ ।
चीन अग्नि–५ को निसानामा
यस परीक्षणपछि भारत अमेरिका, ब्रिटेन, रुस, चीन र फ्रान्स जस्ता देशको लाइनमा उभिन पुगेको थियो । यी सबै देशसित एउटा महाद्वीपबाट अर्को महाद्वीपसम्म प्रहार गर्न सक्ने ब्यालेस्टिक मिसाइल छन् । अग्नि–५ को निसानामा चीनका कैयौँ इलाका पर्छन् । गत बिहीबार भारतले राजस्थानको पोकरणमा ब्रह्मोस मिसाइलको परीक्षण गरेको छ । ब्रह्मोस मिसाइल संसारकै सबैभन्दा तीव्र सुपरसोनिक क्रुज मिसाइल मानिन्छ ।
यसबाट भारतको निसाना लगाउने क्षमता चार सय किलोमिटरसम्म बढेको छ । साउथ चाइना पोस्टको रिपोर्टमा भनिएको छ कि भारतको साथमा आणविक हतियार वहन गर्न सक्ने मिसाइल छन्, र तिनले लामो दूरीसम्म प्रहार गर्न सक्छन् । जब कि पाकिस्तान आणविक हतियार वहन गर्न सक्षम मिसाइलको विकासमा जोड दिइरहेको छ, जसले एकसाथ अलग–अलग निसाना लगाउन सकोस् ।
चीनले पाकिस्तानलाई ठूलो मात्रामा हतियार आपूर्ति गर्दै आएको छ । यिनमा जहाज, सबमरिन र फाइटर जेट पनि सामेल छन् । चीनको सिनचियाङ प्रान्त र पाकिस्तानको ग्वादर बन्दरगाहलाई जोड्ने चीन–पाकिस्तान आर्थिक करिडोरलाई लिएर भारतको पहिल्यैदेखि आपत्ति रहेको छ ।
(बिबिसी हिन्दीको समाचार टिप्पणी)
बिबिसी डट कम/हिन्दीबाट