नबोलेको कुरा लेखेर सामाजिक सद्भाव बिथोल्न खोजियो: राधिका तामाङ
प्रदेश नं ३ का उपसभामुख राधिका तामाङले आफ्नो नाम जोडेर गार्इ काट्नेसम्बन्धी समाचार प्रकाशित भएकोमा आपत्ति जनाएकी छिन् ।
उपसभामुख तामाङले सोमबार विज्ञप्ति निकालेर आफूले कुनै पनि सन्दर्भमा गार्इको मासु खान पाउनुपर्छ नभनेको बताएकी छिन् ।
तामाङले नियाजित रूपमा गलत सूचना प्रवाह गरी सामाजिक सद्भाव भड्काउने र धर्म निरपेक्षतामाथि प्रहार गर्ने काम भइरहेको भन्दै आपत्ति जनाएकी हुन् ।
उनले नेपाल तामाङ घेदुङले मकवानपुर जिल्लाको घटनाबारे गृहमन्त्रीसमक्ष ध्यनाकर्षण गराउँदा सन्दर्भवश आफू त्यहाँ रहेको बताएकी छिन् । उनले तथ्यलाई बंग्याएर सार्वजनिक गरिएको समाचार झुठ र निन्दनीय भएकोसमेत जिकिर गरेकी छिन् ।
उनले गलत समाचारको पछि लागेर सामाजिक सञ्जालमा व्यक्त आवेश र अमर्यादित गतिविधिप्रतिसमेत दुःख व्यक्त गरेकी छिन् ।
‘लडेर मरेको गाईलाई मारेको आरोप लगाई व्यक्तिगत रिसिइबीका कारण सोझो गाउँलेसँग पैसा असुल्ने र नाजायज दुःख दिने बीचौलियाबाट पीडितहरु न्याय माग्दै भौतारिरहेको सन्दर्भमा यस्ता विषयलाई सम्बन्धित निकायसम्म पुर्याई न्याय प्रदान गर्नु सबैको जिम्मेवारी हो,’ उपसभामुख तामाङले विज्ञप्त्रिमा भनेकि छिन्, ‘गृहमन्त्री समक्ष यो विषयको ध्यानाकर्षण गराउनु मेरो कर्तव्य ठानेँ र निर्दाेषले न्याय पाउनु पर्दछ भन्ने भनाइ राखेँ । तर, समाचारमा विषयवस्तुलार्इ ताेडमाेड गरी अर्कै बनाइयाे ।’
उनले नियोजित रूपमा फैलाइएको हल्ला र प्रचारको पछि नलाग्न आम जनसमुदायलाई आग्रह गरेकी छिन् । उपसभामुख तामाङले कुनै पनि विषयमा लेख्दा र बोल्दा आमसञ्चारको मूल्य मान्यता र साइबर कानुनको ख्याल गर्न सञ्चारकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेकी छिन् ।