डीपीएलमा अार्इपीएलका खेलाडीले खेल्ने
चैत १७ गतेदेखि धनगढीमा हुने धनगढी प्रिमियर लिग (डिपिएल) टिम महेन्द्रनगर युनाइटेडले दुई जना भारतीय खेलाडीहरु अनुबन्ध गरेको छ।
महेन्द्रनगर युनाइटेडले भारत दिल्लीका पुनित विष्ट र पुनित महरालाई टोलीसँग अनुबन्ध गरेको जनाएको छ।
पुनित विष्टले दिल्ली डेयरडेभिल्सको टोलीबाट इण्डियन प्रिमियर लिग (आइपीएल) खेलिसकेका छन्। सन् २०१२ मा उनी दिल्लीको टोलीमा थिए। उनी राइट ह्याण्डेड विकेटकिपर ब्याट्सम्यान हुन्।
यस्तै, दिल्लीकै अर्का रण जी प्लेयर पुनित मेहरा अलराउण्डर हुन्। उनी लेफ्ट आर्म स्पिन बलिङ र लेफ्ट ह्यान्डेड ब्याट्सम्यान हुन्। उनले भारतको रणजी ट्रफी खेलिसकेका छन्।
टिमको रणनैतिक खेलाडीमा विनोद भण्डारी छन् भने प्रशिक्षकमा विनोद दास छन्। टिमले आइतबारदेखि अभ्यास थालिसकेको जनाएको छ। टोलीमा करण केसी, अभिनाश कर्ण, भुवन कार्की, रोहित कुमार पौडेल, आरिफ शेख र आसिफ शेख जस्ता खेलाडीहरु छन्।
यसअघि काठमाडौं गोल्डन्स र रुपन्देही च्यालेन्जर्सले पनि विदेशी खेलाडी अनुबन्धन गरेका थिए।
काठमाडौंले भारतका दुई जना खेलाडीहरु जयकिसन कोल्सावाला र सन्नी पटेललाई टोलीसँग अनुबन्ध गरेको थियो। गुजरातका कोल्सावाला विकेटकिपर ब्याट्सम्यान हुन् ।
भारतको रण जी ट्रफी खेलिसकेका उनले लिस्ट ए का ४ तथा फस्ट क्लासका ९ खेल खेलिसकेका छन् । त्यस्तै अर्का रण जी प्लेयर सन्नी पटेल राइट ह्यान्डेड ब्याट्सम्यान हुन् । उनले फस्ट क्लासका १३ तथा लिस्ट ए का १७ खेल खेलिसकेका छन् ।
शक्ति गौचन रणनीतिक खेलाडी रहेको रुपन्देहीले पनि २ विदेशी खेलाडी भित्राएको थियो। रुपेन्देहीले ओमानका सुफायन मोहम्मदलाई आवद्ध गरेको थियो। यस्तै क्रिकेट एशोसियसन अफ बंगाल, कलकत्ताका दीपक प्रसाद पनि रुपन्देहीमा अनुबन्ध भएका थिए।
ओमानका राष्ट्रिय टोलीका सदस्य समेत रहेका सुफायन लेफ्ट ह्यान्डेड ब्याट्सम्यान हुन्। २६ वर्षीय सुफायन पार्ट टाइम बलिङसमेत गर्ने गर्छन्। दीपकले बीसीसीआईको प्रतियोगितामा बंगाल–११ तथा बंगाल यू–२३ टोलीबाट खेलिसकेका छन्।
डिपिएलमा आबद्ध सबै टिमले २ जना विदेशी खेलाडी भित्राउनुपर्ने प्रावधान छ। जसअनुसार अब ३ टिमले विदेशी खेलाडी सार्वजनिक गर्न बाँकी छ।
चैत १७ गते हुने उद्घाटन खेलमा टिम चौराह धनगढी र काठमाडौं गोल्डेन्सबीच प्रतिस्पर्धा हुनेछ। १५ दिन चल्ने प्रतियोगितामा ६ टिमको सहभागिता छ। लिग चरणमा १५ खेल हुनेछन्।
प्रतियोगितामा महेन्द्रनगर युनाइटेड, टिम चौराह धनगढी, सीवार्इसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सको सहभागिता छ।