News भिडियो कभर स्टोरी

उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरीलार्इ १८ लाख पुरस्कार (भिडियोसहित)

उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरीलार्इ १८ लाख पुरस्कार (भिडियोसहित)

काठमाडौं । महानगरीय प्रहरी परिसरले ‘काठमाडौँ प्रहरी अवार्ड’ घोषणा गरेको छ । परिसरले अवार्डअन्तरगत आगमी वैशाखदेखि महानगरीय प्रहरी परिसर मातहतका कर्मचारीलाई पुरस्कृत गर्ने लागेको हो ।

 

महानगरीय प्रहरी परिसरका प्रमुख विश्वराज पोखरेलले आज मंगलबार काठमाडौंको टेकुस्थित कार्यालयमा पत्रकार सम्मेलन गरेर विशेष योगदान पुर्याउने उत्कृष्ठ प्रहरी कर्मचारीलाई मासिक नगद पुरस्कार दिने घोषणा गरेको जानकारी दिए । परिसरले नेपाल बंगलादेश बैंकसँग सहकार्य गरेर पुरस्कार प्रदान गर्न लागेको हो ।

 

महानगरीय प्रहरी प्रमुख पोखरेल र नेपाल बंगलादेश बैंक लिमिटेडका कार्यकारी निर्देशक ज्ञानेन्द्रप्रसाद ढुंगानाले सोसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार बैंकले महानगरीय प्रहरीलाई १ वर्षका लागि एकमुष्ठ १८ लाख ६० हजार आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।

 

आगामी वैशाख महिनादेखि प्रत्येक महिना विभिन्न विधामा विशेष योजदान पुर्याउने र उत्कृष्ट कार्य गर्ने प्रहरीलाई छनोट गरी नगद पुरस्कार दिने परिसरका प्रमुख पोखरेलले बताए । गुण्डागर्दी, तस्करी, हुण्डी तथा जघन्य प्रकृतिका अपराधविरूद्ध सशक्त काम गर्नुका साथै नेपाल प्रहरीको छवी उच्च राख्न विशेष योगदान पुर्याउने कर्मचारीलाई प्राथमिकताका साथ पुरस्कार दिने उनकाे भनाई छ ।

 

कार्यक्रममा परिसरका प्रमुख पोखरेलले यस्तो सहयोगले प्रहरीलाई कार्यसम्पादन गर्न थप हौसला मिल्ने विश्वास व्यक्त गरे । बैँकका प्रमुख कार्यकारी निर्देशक ढुंगानाले सामाजिक उत्तरदायित्व वहन गर्न बैँकले परिसरसँग सहकार्य गरेको बताए ।

 

परिसरले हरेक महिना उत्कृष्ट कार्य गर्ने प्रहरी जवानदेखि प्रहरी नायब उपरीक्षक (डिएसपी)सम्म प्रत्येक महिना एक जनाका दरले छ जनालाई नगदसहित पुरस्कृत गर्न लागेको हो । परिसरले हरेक महिना छ जनाका दरले एक वर्षमा ७२ प्रहरीलाई पुरस्कृत गर्न लागेको हो ।

 

उत्कृष्ट काम गर्ने एक जना डीएसपीलाई ५० हजार, इन्स्पेक्टरलाई ३५ हजार, सईलाई २५ हजार, असईलाई २० हजार, हवल्दारलाई १५ हजार र जवानलाई १० हजार रूपैयाँ नगद पुरस्कारस्वरूप हरेक महिना प्रदान गरिनेछ ।

 

प्रोत्साहन भत्ता पाउने प्रहरीको छनोट काठमाडौं प्रहरीकै एक समितिले गर्नेछ । अहिले महानगरीय प्रहरी परिसरअन्तर्गत तीन हजार तीन सय प्रहरी कर्मचारी कार्यरत छन् ।

विश्वराज पोखरेल प्रहरी

विशेष