समयमै पाठ्यपुस्तक पुर्याउनू : प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आगामी शैक्षिक सत्र २०७५ मा समयमै विद्यार्थीको हातमा पाठ्यपुस्तक उपलब्ध गराउन सम्बन्धित निकायका प्रमुखलाई निर्देशन दिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव प्रेमकुमार राईको अध्यक्षतामा सोमबार बसेको बैठकले कक्षा १ देखि ५ सम्म जनक शिक्षा सामग्री केन्द्र लिमिटेड र ६ देखि १० सम्म निजी क्षेत्रले यही चैत २५ गतेभित्र सबै जिल्ला सदरमुकाममा पाठ्यपुस्तक पुर्याइसक्ने निर्णय गरेको हो।
आधारभूत तहका अंग्रेजी माध्यमको पाठ्यपुस्तक साझा प्रकाशनले उत्पादन र वितरण गर्दै आएको छ।
यस्तै आगामी शैक्षिक सत्रमा कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक रंगीन हुनेबारे सम्बन्धित शिक्षक अभिभावकमा जानकारी दिन, निःशुल्क पाठ्यपुस्तकबापतको रकम स्थानीय तहमार्फत भुक्तानी गराउन र समयमा पाठ्यपुस्तक उपलब्ध भए नभएकाबारे अनुगमन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अनुगमन गर्न पनि प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको छ।
बैठकमा शिक्षा मन्त्रालयका सचिव मधुप्रसाद रेग्मी, शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेल, पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्री, साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मा, जनक शिक्षाका प्रबन्ध सञ्चालक महेश तिमल्सिनालगायतको सहभागिता थियो।