चारकोसे झाडीभित्र गोठजस्तो विद्यालय : ४ कक्षासम्मका विद्यार्थीलाई एउटै कोठा, एउटै शिक्षक
बारा । कक्षा–२ का राहुल पासवान कापी र सिसाकलमसँगै बोरा पनि बोकेर चारकोसे झाडी छिर्छन् । उनले पढ्ने नेपाल दलित प्राथमिक विद्यालय चारकोसे झाडीभित्र छ। गोठजस्तो विद्यालयमा बस्ने बेन्च र चकटी तथा पुस्तक राख्ने डेस्क र टेबल केही छैन ।
विद्यालयमा न त लेख्नका लागि कालोपाटी र चक नै छ, न त पढाउने स्थायी शिक्षक । विद्यालय सहयोगी कार्यकर्ता लक्ष्मी चौधरीको भरमा चलेको छ विद्यालय। उनले कक्षा १ देखि चारसम्म पढ्ने ७० बालबालिकालाई एकै ठाउँ राखेर पढाउँछिन् ।
‘यस्तो अवस्थामा के पढ्नु र के पढाउनु? दिन काट्ने बाटो मात्रै भएको छ,’ चौधरीले भनिन् । जिल्ला शिक्षा कार्यालय बाराले ०६६ सालमा विद्यालय सञ्चालनका लागि अनुमति दिएको थियो ।
त्यतिबेला वन क्षेत्र अतिक्रमण गरेर बसेका सुकुम्बासीका बालबालिका पढाउन विद्यालय खोल्ने अनुमति दिएको शिक्षाका एक कर्मचारीले बताए। विद्यालय सहजनाथ साझेदारी वन क्षेत्रको चारकोशे झाडीमा खोलियो ।
सो स्थान हाल जितपुरसिमरा उपमहानगरपालिका– १७ मा पर्छ। त्यहाँ मठियानी टोलका ४५ बालिका र २५ बालक पढ्छन् । विद्यालय खोल्ने स्थानको सामान्य निरीक्षणसमेत नगरेर विद्यालय खोल्ने अनुमति दिँदा समस्या भएको जितपुरसिमरा–१७ का रुकेश प्रसादले बताए ।
उनका अनुसार बालबालिकालाई विद्यालय जान पनि सहज छैन। ‘पहिला विद्यालय टाढा थियो, अहिले नजिक छ, तर जंगलबीचमा हुँदा बालबालिका जान डराउँछन्,’ उनले भने ।
१० कक्षा पढेकी लक्ष्मी प्रधानाध्यापक ! विद्यालयले ०६६ मा स्वीकृत पाएदेखि नै करैयामाई गाउँपालिका–१ निवासी लक्ष्मी चौधरी मात्र शिक्षक छिन्। चौधरीले आफू नै प्रधानाध्यापक भएको बताइन्। तर, उनले १० कक्षासम्म मात्र पढेकी छिन् ।
चौधरी बालशिक्षा कोटाअन्तर्गत सहयोगी कार्यकर्ताको रूपमा त्यहाँ कार्यरत छिन्। जिल्ला शिक्षा कार्यालयले उनलाई मासिक ६ हजार तलब दिँदै आएको छ । याे खबर अाजकाे नयाँ पत्रिका दैनिकमा छ ।