दुर्इ वटा नागरिकता बनाउने चलखेलमा पक्राउ
दैलेखमा किर्ते विवरण तयार पारी नागरिकता लिएका एक व्यक्ति कानुनी फन्दामा परेका छन् । दुल्लू नगरपालिका ८ का बमबहादुर कार्कीका छोरा २६ वर्षीय जगतबहादुर कार्कीले किर्ते विवरण पेश गरी दोश्रो नागरिकता लिएको आरोपमा प्रहरी हिरासतमा परेका हुन् ।
जन्ममिति २०४८ माघ २५ गते उल्लेख गरी २०६७ भदौ ५ गते प्राप्त गरेको नागरिकता भए पनि गत भदौ २७ गते मदनबहादुर कार्की नाम र २०५४ भदौ २५ गते जन्म मिति खुलाएर किर्ते नागरिकता लिएको खुलेपछि जिल्ला प्रशासन कार्यालयले अनुसन्धान गरी कारवाही चलाउन सोमबार प्रहरी हिरासतमा पठाएको हो ।
पहिलो नागरिकताअनुसार उमेर नाघिसकेकोले सेना प्रहरीमा भर्ती हुने प्रयास गर्ने उद्देश्यले किर्ते विवरण पेश गरी दोस्रो नागरिकता लिएको कार्कीले बताएका छन् ।
९ कक्षा उत्तीर्ण गरेका कार्कीले दोस्रो नागरिकता लिएपछि गत असोजमा नेपाली सेनाको जवान पदको खुला प्रतिस्पर्धामा सहभागी भई मेडिकलमा फालिएका थिए । मतदाता नामावलीदेखि सबै काम अघिल्लो नागरिकताअनुसार गराएको उनले बताएका छन् ।
निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकतामा जन्ममिति फरक परेको प्रकरण चर्चामा आएको बेला आफूले लिएको दोस्रो नागरिकताले केही अप्ठ्यारो पर्न सक्ने भन्दै दोस्रो नागरिकता रद्द गरिदिन जिल्ला प्रशासन कार्यालयमा आफैँले निवेदन दिएपछि किर्ते विवरण दिई दोस्रोे नागरिकता लिएको खुलेको हो ।
नागरिकता ऐन २०६३ अनुसार किर्ते विवरण खडा गरी नागरिकता लिएमा ६ महिनादेखि ३ वर्षसम्म कैद वा २० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ ।
एेनमा किर्ते विवरण सिफारिस गर्ने र सनाखत बस्ने समेतलाई आधा सजाय हुने उल्लेख छ ।
किर्ते विवरणका आधारमा लिएको नागरिकता रद्द गरिदिन आफैँले लिखित निवेदन दिएकोले सुधारात्मक दण्ड गर्ने गरी कानुनी कारवाही अघि बढाउन लागिएको प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले जानकाररी दिए ।
घटनाबारे प्रहरीले अनुसन्धान थालिसकेको र किर्ते विवरण बनाई दोस्रो नागरिकता लिएको विषयमा दैलेख जिल्ला अदालतमा मुद्दा लिने तयारी भएको जिल्ला सरकारी वकिल कार्यालय दैलेखका सहायक न्यायधिवक्ता कौशल ढुंगानाले बताए ।