News समाज

अब नगरपालिकाका हरेक कार्यालयमा सीसी क्यामरा

अब नगरपालिकाका हरेक कार्यालयमा सीसी क्यामरा

नगरपालिकाका प्रमुख वासुदेव थापाको आँखा कार्यकक्षमा प्रवेश गरे लगत्तै टेबुलको कम्प्युटरमा पुग्छ ।



कम्युटरबाटै आफ्नो कार्यालयका कर्मचारी कसले समयमै हाजिर गरे, कसले गरेनन्, नगरपालिकाको १० वटै वडा कार्यालयका वडा अध्यक्षदेखि कर्मचारीसम्मले हाजिर गरे कि गरेनन्, १० वटा स्वास्थ्य चौकीका कर्मचारी र नौ वटा सामुदायिक विद्यालयका प्रअ र शिक्षक शिक्षिकाले हाजिर गरे कि गरेनन् हेर्ने गर्छन् । याे क्रियाकलाप भक्तपुरकाे सूर्यविनायक नगरपालिकाकाे हाे ।  



प्रत्येक दिन बिहान १०.१५ बजेभित्र नगरपालिका, मातहतका वडा कार्यालय, स्वास्थ्य चौकी र विद्यालयका कर्मचारीको हाजिर हेरेपछि उनी आँखै अगाडिको सिसी क्यामरा हेर्ने गर्छन् । नगरपालिकादेखि वडा कार्यालयसम्म काम भइरहेको छ कि छैन, सेवाग्राहीको भीड छ कि छैन भन्ने जानकारी पनि उनी सिसी क्यामराबाट लिने गर्छन् । 

 


नगरपालिकाले प्रत्येक वडा कार्यालय, प्रत्येक स्वास्थ्य चौकी र सामुदायिक विद्यालयमा ‘अनलाइन सिस्टम’ जोडेपछि यो कार्य सहज भएको नगरपालिकाका सूचना प्रविधि संयोजक दीपेश खड्काले जानकारी दिए ।

 

 
संयोजक खड्काले भने, “नगरपालिकाले सबै वडा कार्यालय, स्वास्थ्य चौकी र नौ वटा विद्यालयमा ‘इ–हाजिरी र सिसी क्यामरा जडान गरेको छ, सबै कार्यालयको नगरपालिकासँग सर्भर जोडिएकाले कर्मचारीले कति बजे हाजिर गरे, कति बजे गएँ प्रमुखले आफ्नै कार्यकक्षबाट हेर्न सक्ने गरी प्रविधि जडान गरिएको छ ।” 



उनले उक्त प्रविधि मोबाइलमा समेत राखिएकाले बताए । 



नगरपालिकाले प्रत्येक वडा कार्यालयको राजस्व संकलन कक्षको कम्प्युटरमा ‘इ–बिलिङ सिस्टम जडान गरी नगरपालिकामा उठेको राजस्व समेत सिधै नगर प्रमुखको कार्यकक्षबाट हेर्ने सकिने व्यवस्था गरिएको खड्काले बताए।

 

 
आफ्नो क्षेत्रको विकास र अवस्थाको जानकारी लिन सजिलो गर्न चोकचोकमा पनि सिसी क्यामरा जडान गरिने भएको छ । 

विशेष