News समाज

विद्यूत चोर्ने व्यापारी पक्राउको विरोधमा महोत्तरीमा चक्काजाम

विद्यूत चोर्ने व्यापारी पक्राउको विरोधमा महोत्तरीमा चक्काजाम

महोत्तरी । विद्यूत चोरीको आरोप लगाएर व्यापारीलाई पक्राउ गरेको विरोधमा रामगोपालपुर अपरान्हदेखि तनावग्रस्त छ ।

 

विद्यूत चुहावट नियन्त्रणका लागि खटिएको सुरक्षाकर्मीसहितको टोलीले रामगोपालपुर ५ का पान पसलका सञ्चालक बेचन चौधरीलाई बुधवार पसलबाटै नियन्त्रणमा लिएपछि विरोधमा उत्रिएका स्थानिय व्यापारीले चक्का जाम गरेका छन् ।

 

उनीहरुले जलेश्वर वर्दिवास सडक खण्डमा बाँसका भर्‍याङ र ब्रेन्च तेर्स्याउनुका साथै टायर बालेर अवरोध गरेका छन् । सडक अवारेधका कारण वस,साना तथा ठूला सवारी साधनहरु रामगोपालपुरमै रोकिएका छन् ।

 

चौधरीलाई तत्काल रिहाईको माग गर्दै उनीहरुले रामगोपालपुरस्थित विद्यूत प्राधिकरणको महशुल काउण्टरमा समेत तालाबन्दी गर्दै नाराबाजी गरेका छन् ।उनीहरुले प्राधिकरणका कर्मचारीद्वय पुरुषोत्तम प्रसाई र मनोज यादवलाई काउण्टरमा थुनेका छन् ।

 

चौधरीलाई न छाडे महशुल काउण्टरमा आगजनी गर्नेसम्मको धम्की आउन थालेपछि कर्मचारी त्रासमा रहेको जनाईएको छ । आगजानीको धम्कीले काउण्टर राखिएको घर मालिकले समेत डराएर चौधरीलाई छाड्न फोन गरेपछि आफू दबाबमा परेको प्राधिकरणको जलेश्वर शाखाका प्रमुख माधवेन्द्र यादवले जनाए ।

 

चौधरी निर्दोष भएको व्यापारीहरुको दावी छ । निर्दोष व्यक्तिलाई नियन्त्रणमा लिएर प्राधिकरणले ज्यादती गरेको व्यपारीहरुको आरोप छ । चौधरीले आफ्नो पान पसलमा सब मिटर राखेर विद्यूत प्रयोग गरेको उनीहरुले जनाए ।

 

तर शाखा प्रमुख यादवका अनुसार विद्युतकर्मीले अघिल्लो दिन नै सुराकी प्रयोग गरी चौधरीले हुकिङ गरेको पत्तो लगाएको थियो । सोही सूचनाको आधारमा विद्युत चुहावट नियन्त्रण टोलीले उनलाई नियन्त्रणमा लिएको थियो ।

विशेष