१ करोड ठग्ने प्रहरी हवल्दार पक्राउ
पोखरा । करीब १ करोड ठगीको आरोपमा प्रहरी हवल्दार पक्राउ परेका छन् । पोखरा लेखनाथ महानगरपालिका १८ सराङ्कोटस्थित प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार सुमन अधिकारी पक्राउ परेका हुन् ।
गोर्खा आरुपोखरीका ३५ वर्षीय अधिकारीमाथि कास्कीको माछापुच्छ्रे ९ माईती घर भई दाङ्सिमराङ बस्ने टोपली भनिने निशा परियारसँग मिलेर ब्याजमा पैसा लिएको र फिर्ता नदिएको आरोप छ ।
अधिकारी र परियारलाई वाईसीएल कास्कीका बरिष्ठ उपाध्यक्ष एञ्जल्स कार्की र अनुशासन विभाग प्रमुख लक्ष्मण अधिकारी सहितको टोलीले नियन्त्रणमा लिएर मंगलबार कास्की प्रहरीलाई बुझाएका छन् ।
उनहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा राखेर अनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक अशोक सिंहले बताए ।
ठगिएकाहरुले आफ्नो रकम फिर्ता गराईदिन प्रहरीलाई आग्रह गरेका छन् । यद्यपि उनीहरुले किटानी जाहेरी भने दिएका छैनन् ।