यसरी बिते राष्ट्रपतिका २८ महिना
काठमाडाै । राष्ट्रपति विद्यादेवी भण्डारीले २८ महिने कार्यकालमा तीन मुलुकको औपचारिक भ्रमण गरिन्– भारत, श्रीलंका र युनाइटेड अरब इमिरेट्स (यूएई) । बहुराष्ट्रिय भ्रमणमा जेनेभा पनि पुगिन् । तर चीन भ्रमणको अवसर जुरेन ।
यसमा भण्डारीले छिटोछिटो सरकार परिवर्तनलाई प्रमुख कारण ठानेकी छन् । आफ्नो सल्लाहकार समूह र निकट व्यक्तिसँगको अनौपचारिक कुराकानीमा उनले यस्तो धारणा राख्दै आएकी छन् ।
उनीअघिका राष्ट्रपति रामवरण यादवले दुईपटक चीन भ्रमण गरे, तर राजकीय नभई सांघाई एक्स्पो र बोआओ फोरममा सहभागी हुन । दुईपक्षीय सम्बन्ध र कूटनीतिमा निकै चासो राख्ने राष्ट्रपति भण्डारीले साना–साना विषय पनि उठाउने गरेकी छन् ।
राजदूतसँग छुट्टाछुट्टै छलफल गर्नुका साथै उनीहरूलाई नेपालमा भएको प्रगति सुनाउँछिन् । उनीहरूको चासो बुझछिन् । उनले छिमेकी चीन र भारतका कुनै कार्यक्रमलाई बेवास्ता गरिनन् ।
चीन भ्रमण नगरे पनि चिनियाँ सरकारको कार्यक्रम आफ्नै कार्यालयमा गर्न दिइन् । शीतलनिवासमै चिनियाँ राष्ट्रपति सी चिनफिङको पुस्तक विमोचन गरिएको थियो । उनकै पालामा राजदूतहरूलाई बग्गीमा ल्याएर ओहदाको प्रमाणपत्र बुझ्न थालियो ।
, रक्षामन्त्री भइसकेको अनुभवले हुन सक्छ, भण्डारीले सैन्य कूटनीतिलाई पनि जोड दिँदै आएकी छन् । विश्व शान्ति मिसनमार्फत सेनाले नेपालको कूटनीति अघि बढाउँदै गएको उनको बुझाइ छ । आगामी दुई सातापछि कार्यकाल सकिने भए पनि उत्तिकै सक्रिय छिन् ।
कतिपयले उनलाई फेरि पनि ‘राष्ट्रपतिको दाबेदार’ का रूपमा व्याख्या गरिरहेका छन्।पछिल्लो समय राष्ट्रिय सभा सांसद मनोनयनको विषयबाहेक उनी खासै विवादमा परेकी छैनन्। उक्त विषयमा सर्वोच्चमा मुद्दा विचाराधीन छ । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।