मकवानपुरको राक्सिराङमा प्रहरीद्वारा दुई क्विन्टल गाँजा नष्ट
चितवन । सशस्त्र प्रहरी बल गढीमाई गण भण्डारा चितवनले ठूलो परिमाणमा गाँजा बरामद गरी नष्ट गरेको छ । गणको गस्ती टोलीले बिहीबार मकवानपुरको राक्सीराङ गाउँपालिका–६ डाबराङ गाउँमा पुगेर गाँजा बरामद गरेको हो ।
स्थानीय गोठमा लुकाई राखेको अवस्थामा १४ वटा बोरामा २०३ किलो गाँजा बरामद गरेको गणका सशस्त्र प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए । गणका सशस्त्र प्रहरी नायब निरीक्षक नारायणप्रसाद इटनीको नेतृत्वमा गएको गस्ती टोलीले सुराकीको आधारमा गाँजा बरामद गरेको हो ।
सो बरामद गाँजा बिहीबार नै गणका प्रहरी नायब उपरीक्षक राजु पाण्डे, इलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षक रामेश्वर त्वाती, राप्ती नगरपालिका–६ का वडाध्यक्ष जल्लु चौधरी, पत्रकारलगायतका उपस्थितिमा नष्ट गरिएको हो ।
सशस्त्र प्रहरी गण भण्डाराबाट करिब ३५ किलोमिटर उत्तरपूर्वको पहाडी क्षेत्रमा रहेको सो गाउँमा प्रहरीले पटकपटक गाँजा नष्ट गर्दै आएको छ । विगतमा पनि गाँजा बरामद हुने गरेको थियो ।
केही महिना अघि मात्रै यहाँको विभिन्न ठाउँमा १५ बिगाहाभन्दा बढी क्षेत्रको गाँजा फाँडेर नष्ट गरिएको थियो । सो क्षेत्रमा गाँजा खेती हुँदै आएको छ । रासस