प्रधानमन्त्रीकाे ब्रिफिङमा किन गएनन् माअाेवादी मन्त्री
पार्टी एकताबारे माअाेवादीले बाेली फेर्दा एमाले नेता चुपचाप
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार नेपालमा रहेका कूटनीतिक नियोगका प्रमुखहरुलाई गरेको ‘ब्रिफिङ’मा माओवादीका मन्त्रीहरु अनुपस्थित भए ।
एमाले र माओवादीबीच प्रधानमन्त्री ओलीको भारत भ्रमण अगावै चैत २३ गतेभित्र पार्टी एकता गर्नेबारे गृहकार्य सुरु भएको थियो । तर समान हैसियत नभएसम्म पार्टी एकता हुन नसक्ने प्रचण्डको पछिल्लो अभिव्यक्तिले एकता प्रक्रियाले मूर्त रुप पाउनेमा आशंका उब्जिएको छ ।
माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले पार्टी एकतामा कुनै समस्या नरहेको जिकिर गरिन् । कूटनीतिक नियोगका प्रमुखहरुलाई प्रधानमन्त्रीले ब्रिफिङ गरेको कार्यक्रममा माओवादीका मन्त्रीहरु नगएको स्वीकार गर्दे उनले भनिन्, ‘सायद बोलाइएन होला, त्यही भएर नगएको हो कि ?’
माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले पनि मंगलबार बुटवलमा भएको एक कार्यक्रममा समान र सम्मानजनक हैसियत नभएसम्म एमालेसँग पार्टी एकता नहुने बताएका छन् ।
एमाले र माओवादीबीच पार्टी एकता हुने लगभग निश्चित जस्तै भएको अवस्थामा नेताहरुको पछिल्लो अभिव्यक्तिले पार्टी एकीकरण हुनेमा आशंका उत्पन्न भएको छ । माओवादी मन्त्रीहरुको अनुपस्थितिबारे एमालेले भने केही प्रतिक्रिया जनाएको छैन ।
युरोपेली युनियन (ईयू)ले नेपालको सामानुपातिक निर्वाचन प्रणालीतर्फ खस आर्य समुदायलाई आरक्षण दिन नहुने भन्दै प्रतिवेदन सार्वजनिक गरेको केही दिनपछि प्रधानमन्त्री ओलीले राजदुतलाई ब्रिफिङ गरेका हुन् ।
ईयूको प्रतिवेदनप्रति आपत्ति जनाउँदै सरकारले प्रतिवेदन सच्याउन ईयूलाई भनेको थियो । तर ईयूले भने प्रतिवेदन सच्याउन अस्वीकार गरेको छ ।
ब्रिफिङमा प्रधानमन्त्री ओलीले सार्वभौमसत्ताको रक्षा, लोकतन्त्रप्रति प्रतिबद्ध, सामाजिक न्याय र समानता, स्थिरता र विकास, सुशासन र जनताको आकांक्षा सम्बोधन सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् । उनले नेपाल कुनै पनि बाहृय देशको उपनिवेश नरहेको भन्दै वर्तमान सरकार राष्ट्रिय हितको संरक्षण गर्न प्रतिबद्ध रहेकाले यसमा कुनै सम्झौता नहुने बताएका छन् ।