News समाज

अाज तरार्इ - मधेसमा धुमधामका साथ होली मनाइँदै

अाज तरार्इ - मधेसमा धुमधामका साथ होली मनाइँदै

बर्दिवास । तराई–मधेस क्षेत्रमा शुक्रबार फागुपर्व मनाइँदै छ। जनकपुरबाहेक तराई–मधेस क्षेत्रमा शुक्रबार होली मनाइन लागेको हो । जनकपुर क्षेत्रमा भने मिथिला माध्यमिकी परिक्रमाका कारण शनिबार मनाइँदैछ ।

 

फागु पूर्णिमाका दिन राति होलिका दहन सकेर भोलिपल्ट रंङ अबिर खेल्दै मिष्ठान्न भोजन गरेपछि समापन गरिने होली पर्व तराई–मधेस क्षेत्रको आपसी प्रेम दर्शाउने मुख्य पर्वका रूपमा होलीको महत्त्व छ ।

 

होलीपर्वको सन्दर्भ सत्ययुगमा दैत्यराज हिरण्यकशिपुले विष्णुभक्त आफ्ना छोरा प्रह्लादलाई मार्न आगोमा पोलिएर नमर्ने अभय वरदान पाएकी बहिनी होलिकाको काखमा राखेर प्रह्लादलाई अग्निकुण्डमा राख्दा होलिका भष्म भएकी तर प्रह्लाद भने बाँच्न सफल भएको पुराणमा उल्लेख छ ।

 

मिथिलावासीले भने मिथिलापुत्री जानकीको सन्दर्भ जोडेर यो पर्वको ओज बढाएका याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ मटिहानीका उपप्राध्यापक ध्रुव रायले बताए ।

 

‘पुराणमा हिरण्यकशिपु, होलिका र प्रह्लादको प्रसंग फागु पर्वका लागि छँदैछ’, उपप्रध्यापक रायले भने, ’तर मिथिलामा यो पर्वप्रति अपनत्त्व बढाउन आफ्नै चेली सीताको सन्दर्भ पर्व विशेषका लागि जोडिएको हो।’

 

काठमाडौं उपत्यकामा पूर्णिमामा मनाइए पनि तराईमा भने होलिका दहन गरेपछि भोलिपल्ट मनाउने चलन छ। पर्वका लागि भोजनमा मासुको प्रयोग आमरूपमा हुने भएकाले खसीबोका र कुखुरासँगै शाकाहारीले मिष्ठान्न परिकार बनाएर खाने गर्छन्।

 

होली आपसी प्रेम दर्शाउने रमाइलो पर्व भए पनि केही वर्षयता पर्वका नाममा उच्छृङ्खलता र विकृति बढेकोतर्फ भने पाका पुस्ता चिन्ता व्यक्त गर्छ।

 

अमर्यादित ढंगले रंङका नाउँमा कालो पोतो दल्ने, अनिच्छुकलाई जबर्जस्ती रङ छ्याप्ने र मादक पदार्थ सेवन गरेर होहल्ला गर्ने बढ्दो विकृतिलाई भने तत्काल नियन्त्रण गर्नुपर्ने बर्दिवास जनता बहुमुखी क्याम्पसका प्रमुख तोपबहादुर ठकुरीको भनाइ छ । रासस

विशेष