News

वैदेशिक रोजगारीमा गएका एकै परिवारका ३ भाइको मृत्यु

वैदेशिक रोजगारीमा गएका एकै परिवारका ३ भाइको मृत्यु

काठमाडौँ । म्याग्दीको दुर्गम मालिका गाउँपालिकाको रुम गाउँ अहिले शोकमग्न छ । कारण, वैदेशिक रोजगारीमा गएका जवान युवा धर्मलाल रोकामगर गाउँले गुमाएको छ । २८ वर्षीय छोरो गुमाएका ७५ वर्षीया लीलामती र ८० वर्षीय धनबहादुर झन् मर्माहत छन् ।

 

धर्मलाल लालमती र धनबहादुरका कान्छा छोरा थिए । बुढा बाआमाको गुजारा चलाउनकै लागि अविवाहित उनी मलेसिया पुगेका थिए । आगामी दसैँमा घर फर्किने र बिहे गर्ने योजना थियो उनको । तर, उनको सपना मलेसियामै समाप्त भयो ।

 

रोकामगर परिवारका लागि यो पहिलो प्रहार होइन । त्यसअघिको पीडा पनि खपिनसक्नु छ । लीलामती र धनबहादुरले अरू दुई छोरा यसअघि नै गुमाइसकेका थिए, त्यो पनि वैदेशिक रोजगारीकै क्रममा ।

 

१२ वर्षअघि माइला छोरा भक्तबहादुरको कतारमा र जेठा छोरा तमबहादुरको १० वर्षअघि मलेसियामा मृत्यु भएको थियो । १८ महिनाको अन्तरमा भएका दुई निर्मम घटनाबाट बिछिप्त बुढा बाआमालाई कान्छा धर्मलालले सम्हाल्दै आएका थिए ।

 

तर, झण्डै एक साताअघि धर्मलालले पनि संसार छाडे । अब रोका दम्पतीको सहारा साइँला छोरा थमबहादुरमात्रै छन् । रोजगारीकै लागि मलेसिया रहेका उनी पनि एक साताअघिमात्रै नेपाल फर्किएका थिए ।

 

मलेसियाबाट छुट्ने बेला उनले भाई धर्मलाललाई भेटेका थिए । आम्दानी राम्रो नभएपछि जागिर छाडेर घर फर्किएका उनी भाइ गुमाउँदाको पिडाले विछिप्त छन् । याे खबर आजको नयाँ पत्रिकामा छ ।

विशेष