News

प्रधानमन्त्रीको भारत भ्रमणको तयारी तीव्र

प्रधानमन्त्रीको भारत भ्रमणको तयारी तीव्र

काठमाडौँ । नेपाल र भारत दुवै पक्षबाट भ्रमण मिति औपचारिक रुपमा सार्वजनिक नभए पनि नयाँदिल्लीको बाह्रखम्बास्थित नेपाली दूतावास प्रधानमन्त्री केपी ओलीको भ्रमण तयारीमा जुटिसकेको छ ।

 

भ्रमणका एजेण्डा र कार्यसूचीलाई अन्तिम रुप दिन दूतावासका अधिकारीहरु र भारतीय विदेश मन्त्रालयको नेपाल डेस्कका कूटनीतिज्ञबीच दिनहुँजसो भेटवार्ता जारी छ ।

 

विशेष गरी नौमहिने नाकाबन्दी, त्यसविरुद्ध ओलीले लिएको अडान र त्यसपछिको राजनीतिक परिस्थितिका कारण तीतो बनेको प्रधानमन्त्री ओलीको र भारतीय समकक्षी नरेन्द्र मोदी नेतृत्वको सरकारबीचको सम्बन्ध सुधारमा भ्रमण केन्द्रित हुने बुझाइ दिल्लीस्थित कूटनीतिक मामिलाका जानकारहरुको छ ।


तयारीमा जुटे मन्त्रालय

 

प्रधानमन्त्री केपी ओलीले आसन्न भारत भ्रमण तयारी तीव्र पारेका छन् । दोस्रो पटक प्रधानमन्त्री नियुक्त भएपछि पहिलो विदेश भ्रमण भारत वा चीन कहाँबाट होला भन्ने आम जिज्ञासा चिर्दै ओली भारत भ्रमणमा जाने तयारीमा जुटेका हुन् ।

 


भ्रमण तयारीका क्रममा विषयगत मन्त्रालयमा नियमित छलफल चलिरहेको छ । ओलीले सरोकारवाला निकायलाई सचेत भएर तयारी गर्न भनेका छन् ।

 

भारतीय पक्षले अनुकूल तिथिसमेत परराष्ट्रमार्फत दिइसकेकाले तिथिदेखि अन्य विषयसम्मको आन्तरिक छलफल चलिरहेको हो । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा ओलीले भ्रमण तयारी अघि बढाएका हुन् ।

 

चैत मसान्तभित्र भारत जाने बताउँदै आएका प्रधानमन्त्रीले बुधबार मन्त्रिपरिषदका सदस्यलाई पनि आफूले भारत भ्रमण गर्नेबारे जानकारी गराएको एक मन्त्रीले बताए ।

 

प्रधानमन्त्री हुनुअघि नै भावी प्रधानमन्त्रीका रूपमा मोदीको बधाई पाएका ओलीले पहिलो विदेश यात्रा उनलाई नै भेटेर गर्न लागेका हुन् । याे खबर अाजकाे कान्तिपुरमा छ ।

विशेष