संघीय संसदमा राष्ट्रपतिको अाज पहिलो सम्बोधन
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनपछि संघीय संसद्को संयुक्त पहिलो ऐतिहासिक बैठकलाई सम्बोधन गर्दैछिन् ।
यही संवैधानिक व्यवस्था अनुसार, चैत १२ को मन्त्रिपरिषद् बैठकले सम्बोधनका लागि राष्ट्रपति भण्डारीलाई आग्रह गरेको थियो ।
सरकारले गरेको आग्रह अनुसार, राष्ट्रपतिले आज अपराह्न ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संघीय संसदका सदस्यहरुलाई संयुक्त सम्बोधन गर्न लागेकी हुन् । प्रतिनिधिसभामा २७५ र राष्ट्रिसभामा ५९ सदस्य छन्।
यसअघि राष्ट्रपतिले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने गरेकोमा नयाँ संविधानले निर्वाचनपछि दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था गरेको छ ।
नेपालको संविधानको धारा ९५ को दफा (२) मा राष्ट्रपतिले प्रतिनिधिसभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने उल्लेख छ ।
सो धाराको दफा (१) राष्ट्रपतिले संघीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्नसक्ने व्यवस्था छ ।
राष्ट्रपतिले सबै निर्वाचन सम्पन्न गरी नयाँ सरकार गठन भएर मुुलुक स्थिरता र विकासको बाटामा लम्कन खोजेकामा बधाई दिँदै आर्थिक समृद्धिका लागि सबैमा आह्वान गर्ने अनुमान गरिएको छ ।
आगामी आर्थिक वर्षको सरकारको नीति कार्यक्रमका लागि आगामी अधिवेशनमा राष्ट्रपतिबाट अलग्गै सम्बोधन हुनेछ ।
यस्तै संसद् सचिवालयका प्रवक्ता डा. भरतराज गौतमका अनुसार राष्ट्रपति भण्डारी सम्मेलन केन्द्रमा घोडाको बग्गीमा चढेर प्रवेश गर्ने र उनलाई प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनालगायतले स्वागत गर्ने तयारी छ ।