सडक विस्तारको काम पुरा नभई बजेट निकासा नगर्न नेता नेपालकाे सरकारलार्इ सुझाव
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सडक विस्तारको काम पुरा नभई बजेट निकासा नगर्न सरकारलाई सुझाव दिएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित ‘समाजवादका लागि भौतिक पूर्वाधार’ विषयक विचार गोष्ठीमा वरिष्ठ नेता नेपालले काम सम्पन्न भएपछि मात्रै एकमुष्ट बजेट निकासा भए सडक निर्माणको काम समयमै सम्पन्न हुने अवस्था आउने पनि स्पष्ट पारेका हुन् ।
उनले समयमै गुणस्तरीय काम सम्पन्न हुने व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए। उनले ‘झोलामा सडक र पोल’ हालेर हिँडेका कारण काठमाडौं उपत्यकाको सडकको अवस्था दयनीय बन्न गएको पनि स्मरण गराए।
वरिष्ठ नेता नेपालले परिणाममुखी काम गर्न पनि सम्बन्धित निकायलाई सचेत गराउन सरकारसँग आग्रह गरे।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारलाई अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेको स्मरण गराउँदै सोही अनुसार सरकारका सबै निकायले काम गर्ने विश्वास पनि व्यक्त गरे।
कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायव महानिरीक्षक सर्वेन्द्र खनालले उपत्यकाको ट्राफिक व्यवस्थासम्बन्धी कार्यक्रमबारे जानकारी गराएका थिए।