जहाँ कम्पनीले कर्मचारीलाई परीक्षण गर्दै, छाेटाे समयमा उत्तम प्रतिफलकाे अाशा
न्युजिल्याण्डको एक कम्पनीले आफ्ना कर्मचारीलाई परीक्षणका लागि सातामा चार दिन मात्रै काममा लगाउन थालेको छ । पर्पेचुअल गार्डियन नामक ट्रष्टी कम्पनीले मार्चको सुरुबाट ६ साताका लागि यस्तो परीक्षण सुरु गरेको हो।
सातामा कामको दिन कम भए त्यसले कम्पनी र कर्मचारी दुवैलाई फाइदा पुर्याउँछ कि पुर्याउँदैन भन्ने परीक्षणका लागि यसको सुरुवात भएको हो।
यद्यपि कर्मचारीहरुलाई साताको पाँच दिनकै तलब सुविधा दिइएको छ। २ सय जना कर्मचारी भएको सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत एन्ड्रयु बार्नेसले परीक्षण सफल भए कम्पनीमा लामो समयका लागि यस्तै व्यवस्था गरिने जनाए। उनका अनुसार यसले कर्मचारीलाई छोटो समयमा उत्तम काम गर्न हौस्याउनेछ।
सो कम्पनीका कर्मचारीहरुले यसलाई सफल पार्न खुब मेहनत गरिरहेको बताइएको छ। ‘मानिसहरु छुट्टीको तेस्रो दिनबारे निकै राम्ररी सोचिरहेका छन्। त्यसलाई राम्ररी प्रयोग गर्न सके जीवन बदलिने उनीहरुको सोच छ। त्यसैले उनीहरु एकदमै उर्जावान् भएर काममा आउँछन्,’ सो कम्पनीकी क्रिस्टिन ब्रोथेर्टोन भन्छिन्, ‘अतिरिक्त छुट्टीका दिन मानिसहरु म्याराथनका लागि अभ्यास गरिरहेका छन्, दन्तचिकित्सककहाँ जाने, कार सर्भिस गराउने, आफू र आफ्ना वृद्ध अभिभावकका लागि किनमेल गर्ने गरिरहेका छन्।’
न्युजिल्याण्डका मानिस प्रतिवर्ष औसतमा १७५२ घण्टा काम गर्छन्। जर्मनीका मानिस वर्षभरीमा सबैभन्दा कम काम गर्छन्। त्यस्तै डेनमार्क, नर्वे र नेदरल्याण्ड कम घण्टा काम गर्ने राष्ट्रहरुमा पर्छन्। मेक्सिको, दक्षिण कोरिया र कोस्टारिका भने वर्षभरिमा सबैभन्दा बढी काम गर्ने राष्ट्रमा पर्छन्।
तर सबैभन्दा बढी उत्पादकत्व भएको देश भने लक्जेमवर्ग हो। तर त्यहाँका मानिस सातामा मात्र २९ घण्टा काम गर्छन्। एजेन्सी