News मुख्य समाचार

यी हुन् प्रधानमन्त्री अाेलीका सारथी, कसले कसरी सघाइरहेका छन्

यी हुन् प्रधानमन्त्री अाेलीका सारथी, कसले कसरी सघाइरहेका छन्

काठमाडौं । मुलुकलाई भ्रष्टाचारमुक्त बनाई आर्थिक समृद्धिको दिशामा लैजाने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धतालाई मूर्तरूप दिन उनका सारथिको भूमिका महत्वपूर्ण रहन्छ।

 

ओलीलाई उनको ‘किचन क्याबिनेट’ मा रहेर सहयोग गर्ने र सुझाव दिन राजनीतिक, आर्थिक, प्रशासनिक र सञ्चार क्षेत्रका हर्ताकर्ता सक्रिय छन्।प्रधानमन्त्री ओलीले आफ्नो सल्लाहकार टिममा तीनजना मात्रै नियुक्त गरेका छन् । मुख्य सल्लाहकारमा विष्णु रिमाल, प्रेस सल्लाहकारमा डा.कुन्दन अर्याल तथा जनसम्पर्क सल्लाहकारमा अच्युत मैनाली नियुक्त भइसकेका छन्।


उनले सुरक्षा तथा परराष्ट्र सल्लाहकार र विकास सल्लाहकार नियुक्त गर्न बाँकी छ। प्रधानमन्त्री ओलीले सल्लाहकार टिम र स्वकीय सचिवालयमा ९१ जनासम्म राख्न पाउने व्यवस्थामा कटौती गरिसकेका छन्। ओलीले दुवै टिममा गरी बढीमा ५० जनासम्म राख्न पाउने निर्णय गराएका छन्।

 

प्रधानमन्त्री ओलीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, ५ नं प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, पूर्वसभामुख सुवास नेम्बाङ, रक्षामन्त्री ईश्वर पोखरेल, एमाले सचिव विष्णु पौडेल, प्रधानमन्त्रीकै प्रमुख सल्लाहकार विष्णु रिमालबाट राजनीतिक सुझाव लिने गरेका छन्।

 

ओलीलाई सुझाव दिनेमा नेम्बाङ पनि अग्रपंक्तिमै पर्छन्। यसका लागि उनी प्रायः बालुवाटारमा नै रहने गरेका छन्। राजनीति, योजना र अर्थशास्त्रमा दक्खल राख्ने प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको पनि ओलीले निकै भर गर्ने नेतामा पर्छन्।

 


तर अहिले पोखरेल ५ नम्बर प्रदेशमा बढी समय दिनुपर्ने भएकाले उनले नियमित सघाउन पाएका छैनन्। ईश्वर पोखरेल पनि ओलीलाई सघाउन नियमित बालुवाटारमा नै जाने गरेका छन्। विष्णु पौडेल पनि ओली निकट रहेर सघाइरहेका छन्।

 

 

उनीहरू राजनीतिक रूपमा प्रधानमन्त्रीलाई सुझाव दिने पहिलो घेरामा पर्छन्। प्रधानमन्त्री ओली यतिखेर सबैभन्दा बढी भर अर्थमन्त्री डा.युवराज खतिवडामाथि नै परेका छन्। मुलुकको बिग्रँदो आर्थिक अवस्था खतिवडाले सुधार्न सक्ने विश्वास ओलीको छ।

 

त्यसैले पनि उनले आफू निकटका धेरै नेताले अर्थमन्त्री ताक्दाताक्दै पनि पार्टीभित्रको आलोचना खेपेरै खतिवडालाई अर्थमन्त्री बनाएका हुन्। ओलीले पत्याएका अर्का युवा नेता हुन्, डा.राजन भट्टराई। देशविदेशको राजनीतिक, परराष्ट्र तथा प्रशासनिक विषयमा समेत दक्खल राख्ने भट्टराईबाट ओलीले सुझाव लिने गरेका छन्।

 

यसैगरी प्रधानमन्त्रीलाई सघाउने पहिलो घेरामा सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटा अग्रपंक्तिमै छन्। प्रधानमन्त्री ओलीले राजनीतिक सल्लाह लिने दोस्रो घेरामा माधवकुमार नेपाल, भीम रावल, वामदेव गौतम पर्छन्। नेपाललाई बालुवाटार बोलाएर ओलीले नियमितजसो नै छलफल गर्छन् भने रावल र गौतमसँग पनि बेलाबखत सुझाव लिने गरेको बताइन्छ।

 

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश महर्जनले प्रधानमन्त्रीलाई अन्य पक्षसँग भेटघाटको चाँजो मिलाउँछन्। प्रेस विज्ञको रूपमा पत्रकार रामशरण बजागाईंले ओलीको प्रेस व्यवस्थापनदेखि अन्य राजनीतिक भेटघाटको समेत चाँजोपाजो मिलाउने गरेका छन्।

 

बजगाईंलाई ओलीले सचिवालयका अन्य महत्वपूर्ण कामको समेत जिम्मा दिएका छन्। प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले प्रधानमन्त्रीलाई महत्वपूर्ण सूचना उपलब्ध गराउने र प्रेससँग डिल गर्ने काम गर्छन्।

 

प्रेस सल्लाहकारमा डा.कुन्दन अर्याल र जनसम्पर्क सल्लाहकार अच्युत मैनाली भर्खरै नियुक्त भएका छन्। ओलीलाई प्रशासनिक सुझाव दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव प्रेमकुमार राई अग्रपंक्तिमा छन्।

 

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयसचिव दिनेशकुमार थपलिया पनि सल्लाह दिने सचिवमा पर्छन्। प्रधानमन्त्रीको मुख्य प्रशासनिक सल्लाहकार मुख्यसचिव हुने भएकाले ओलीले प्रशासन सुधारका बारेमा मुख्यसचिव लोकदर्शन रेग्मीसँग पनि सल्लाह लिने गरेका छन्।

 

ओलीले प्रमुख सल्लाहकार रिमालमार्फत नै मुख्यसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव तथा अन्य मन्त्रालयका सचिवसँग प्रशासन सुधारका बारेमा फिडब्याक लिने गरेका छन्।

 

ओलीको निजी सचिवालयमा खटिएका उपसचिव युवराज दाहाल पनि विश्वास पात्रभित्रै पर्छन्। याे खबर अाजकाे अन्नपूर्ण पोस्टमा छ ।

विशेष