प्रदेश राजधानीमै तस्करीका सामान छ्यापछ्याप्ती
धनगढी । प्रदेश ७ को राजधानी धनगढी बजारमा बेचिने अधिकांश भारतीय सामान भन्सार छलेर भित्र्याउने गरेको पाइएको छ।
बजारमा बेचिने कपडादेखि हार्डवेयरका ९० प्रतिशत सामान भन्सार छलेर नेपाल ल्याउने गरिएकोे छ। सुदूर पश्चिमका व्यापारी नाकामा पनि यस्तै अवस्था छ।
कैलाली जिल्लाको एक सय एक किलोमिटर भारतसँग जोडिएको छ। ‘तयारी कपडा, थानको कपडा, मोटरपार्टस्, हार्डवेयर र भाँडाकुँडाका सामान ९० प्रतिशत चोरी तस्करीबाट भित्रिरहेको छ’,
कैलाली भन्सार कार्यालयका सूचना अधिकारी गोपीकृष्ण उप्रेतीले भने, ‘धनगढी बजारका हार्डवेयर, भाँडाकुँडा र कपडाका पसलमा बेचिने भारतीय सामानको १० प्रतिशत मात्रै भन्सार हुने गरेको छ।’
थानमा भएको कपडामा ३० प्रतिशत, रेडिमेड कपडामा ४० प्रतिशत र मोटरपार्टस तथा हार्डवेयरको सामानमा ४५ प्रतिशतभन्दा बढी भन्सार महशुल तोकिएको छ।
वार्षिक पौने चार अर्ब भन्सार राजस्व लक्ष्य तोकिएको कैलाली भन्सारमा बढी भन्सार लाग्ने सामान चोरी तस्करी भइरहेको हो । याे खबर आजको अन्नपूर्ण पोस्टमा छ ।