एमाले–माओवादी संसदीय दलको संयुक्त बैठक बस्दै
काठमाडौँ । एमाले र माओवादी केन्द्रको संयुक्त संसदीय दलको बैठक आज बस्दैछ । पार्टी एक हुने अवस्थामा पुगेकाले संसदीय गतिविधिमा एकरूपता दिनेबारे प्रशिक्षणका लागि संयुक्त बैठक बोलाइएको हो।
सोमबारबाट संसदको बैठक सुरु हुने भएकाले त्यसअघि नै सांसदहरूलाई केही प्रशिक्षण दिन लागिएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
बिहान ११ बजेपछि नयाँ बानेश्वरमा रहेको संसद भवनमा सुरु हुने बैठकमा सांसदलाई प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रुपमा सम्बोधन गर्ने छन् ।
दुवै दलबाट धेरै नयाँ सांसद रहेकाले संसदीय मर्यादालगायत विषयमा प्रशिक्षण दिइने भएकाे छ । दुर्इ दलकातर्फबाट सांसद बनेकाहरुको संयुक्त बैठक पहिलोपटक बस्न लागेको हो । प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदका लागि भोली सपथ ग्रहण हुँदैछ ।
एमाले र माओवादीबीच गत फागुन ७ गते पार्टी एकतासम्बन्धी ७ बुँदे आधारपत्रमा हस्ताक्षर भइसकेको छ । दुवै दलले पार्टी एकताको विस्तृत खाका र राजनीतिक कार्यक्रम र विधान निर्माण गरिरहेका छन् । फागुनभित्र सबै काम सकेर चैतको पहिलो साता औपचारिक रूपमा दुई दल एकताको घोषणा गर्ने तयारी छन्।