विवाह भएको ६ महिनामै मनमुटाव, ६ वर्षमा हत्या
काठमाडौँ । नुवाकोटको बेलकोटगढी नगरपालिका ७ की नमुना लामाको हत्या अभियोगमा उनका श्रीमान प्रकाश तामाङ पक्राउ परेका छन्।
शुक्रबार दिउँसो काठमाडौंको चन्द्रागिरी नगरपालिकाको नैकापमा धारिलो हतियार प्रहार गरी उनको हत्या भएको थियो। २३ वर्षीया नमुनाको हत्यापछि उनका २१ वर्षीय श्रीमान् प्रकाश फरार थिए।
प्रकाशलाई शनिबार बिहान प्रहरीले धादिङको गोगनपानी गल्छी गाउँपालिकाबाट पक्राउ गरेको हो। ठूलीआमाको छोराको घरमा लुकिरहेको अवस्थामा प्रहरीले उनलाई पक्रेको हो।
उनीहरुको ६ वर्ष पहिले विवाह भएको थियो। तर विवाह भएको ६ महिनादेखि नै मुना र प्रकाशको सम्बन्ध राम्रो नरहेको प्रहरी अपराध महाशाखा टेकुले बयानका आधारमा बताएको छ। यसअघि पनि पटक पटक झगडा हुने गरेको र सँगै नबसेको प्रकाशले प्रहरीलाई बयान दिएका छन्।
प्रहरीका अनुसार गत वर्ष प्रकाशले श्रीमतीसँगको झगडाका कारण आफैं विषसेवन गरेर आत्महत्याको प्रयास गरेको तर अस्पतालमा लगेर बचाइएको थियो। नमुना एक महिना पहिलेदेखि नैकापमा रहेकी आफ्नी दिदीको कोठामा बस्दै आएकी थिइन्।
नैकापको कुवामा लुगा धोइरहेकी श्रीमतीलाई भेट्न पुगेका प्रकाशले त्यहीँ झगडा भएपछि छुरी प्रहार गरेर हत्या गरेको बयान दिएका छन्।