News

एक महिनामा वडासम्म कर्मचारी पुर्‍याउँछु: लालबाबु

सेवा गर्नेले मात्र मेवा पाउँछ

एक महिनामा वडासम्म कर्मचारी पुर्‍याउँछु: लालबाबु

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले एक महिनाभित्र स्थानीय तहका सबै वडासम्म कर्मचारी पुर्‍याउने प्रतिवद्धता जनाएका छन् ।

 

गाउँपालिका राष्ट्रिय महासंघ, नेपालको राष्ट्रिय महाधिवेशन मन्त्री पण्डितले एक महिना भित्र कुना कन्दराका वडासम्म कर्मचारी पुर्‍याउने प्रतिवद्धता जनाएका हुन् ।

 

मन्त्री पण्डितले भने, ‘एक महिनाभित्र कुनै पनि कुना कन्दराका वडासम्म राष्ट्र सेवक मैले जसरी पनि पुर्‍याउँछु, काम गर्ने वातावरण बनाउने जिम्मा तपाईँ जनप्रतिनिधिको ।' 

 

उनले मुलुकमा राजनीतिक संक्रमण सकिए पनि प्रशासनिक संक्रमणको अवस्था रहेको बताउँदै संरचना अनुसार कर्मचारी खटाउँदै जाने आश्वासन दिए । अाफूले करार सेवामा समेत स्थानीय तहलाई कर्मचारी राख्न पाउने व्यवस्था गर्न लागिएको जानकारी दिए ।

 

स्थानीय तहका भवन निर्माणका लागि एक हप्ताभित्रै निर्णय हुने आश्वासन पनि पण्डितले दिए । ‘जहाँ भवन छैन, त्यहाँ निर्माणका लागि र भत्किएको ठाउँमा मर्मत गर्न एक हप्ता भित्र रकम उपलब्ध गराउने व्यवस्था गर्छौँ’, उनले भने ।

 

सेवा गर्नेले मात्र मेवा पाउँछ

 

जनप्रतिनिधिको सेवा सुविधा एकरुपता समेत हुन नसक्ने बताए । उनले खटाएको ठाँउ नजाने कर्मचारीलाई राजीनामा दिएर जाने बाटो खुला रहेको बताए । 

 

मन्त्री पण्डितले नक्कली विदा लिएर कर्मचारी ठगिरहेको पाइएमा कडा कारबाही गर्ने चेतावनी दिएका छन् । लाग्ने नलागेको रोग देखाएर कर्मचारीले विरामी विदा लिइरहेको समेत उनले बताए ।

 

‘ठगेर, ढाँटेर विदा लिएको पाइएमा सह्य हुँदैन, खटाएको ठाउँ नगएर नक्कली विदा लिएको समेत मैले थाहा पाएको छु', उनले भने, 'यदि जागिर खान मन छैन भने सरकारले पिजँडामा राख्दैन, निजामती सेवाले त्यसको लागि बाटो खुला गरिदिएको छ, आफुलाई रोगी देखाएर देशलाई ठग्न पाइँदैन । ’


खटाएको ठाउँ नजानेलाई हाजिर नगराउन र विदा स्वीकृत नगर्न प्रत्येक कार्यालयमा लिखित परिपत्र समेत गरिएको उनले जानकारी दिए ।

 

खटिएको ठाउँ नगएर सुविधाको कुरा गर्नेको सुनुवाई नहुने पनि उनले स्पष्ट पारे । ‘मेवा लिन सबैभन्दा पहिला, सेवा दिन चाहिँ पछाडि ? अब त्यो कुनै हालतमा सह्य हुदैँन', उनले भने, काम भन्दा पहिला सुविधाको कुरै हुँदैन’, पण्डितले भने ।

 

विशेष