News प्रदेश ६

महाकाली नदीमा अस्थायी पुल बनाउन गृह मन्त्रालयको स्वीकृति, कहाँ कहाँ बन्छन् पुल ?

महाकाली नदीमा अस्थायी पुल बनाउन गृह मन्त्रालयको स्वीकृति, कहाँ कहाँ बन्छन् पुल ?

दार्चुला । गृह मन्त्रालयले महाकाली नदीमा नेपाल र भारत जोड्ने अस्थायी काठेपुल निर्माण गर्न स्वीकृति दिएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्राचार गरी गृह मन्त्रालयले व्यास गाँउपालिका–१ का स्थानीयवासिन्दा र भारतीय पक्षको मागलाई सम्बोधन गरेको हो ।

 

भारतीय पक्षलाई नेपालको जिल्ला प्रशासन कार्यालयमार्फत लखनपुर, नजंग र छंकन भन्ने स्थानमा अस्थायी काठेपुल राख्न स्वीकृति मागेको थियो । नेपालतर्फको तम्बाकु, थिइको भिर र दोपाखे क्षेत्रलाई जोड्ने गरी अस्थायी काठेपुल राख्न स्वीकृति मिलेको हो ।

 

भारतको पिथौरागढस्थित डिएम कार्यालयले यसबारे केही हप्ताअघि लिखित अनुरोध गरेको थियो । व्यास गाँउपालिका– १ छाङरु र तिंकरका स्थानीयवासीले पनि कुन्चा सर्नका लागि तम्बाकु र थिइको भिरमा अस्थायी काठेपुल राख्न माग गरेका थिए ।

 

गृह मन्त्रालयबाट शुक्रवार स्वीकृतिको पत्र प्राप्त भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए । नेपाल र भारत दुबैतर्फको अधिकारीबीच समन्वय गरी अस्थायी रुपमा काठेपुल राख्न गृहले स्वीकृति दिएको उनले बताए ।

 

नेपाल र भारत दुवैतर्फबाट स्थानीयवासीको कुन्चा सार्न र कैलाश मानसरोवर यात्राका लागि मात्रै अस्थायी काठेपुल राख्न स्वीकृति मिलेको हो ।अस्थायी काठेपुल यो वर्ष मात्रै राखिनेछ ।

 

कैलाश मानसरोवर यात्रा र शौका जातीको बसाइसराई सकिनासाथ काठेपुल हटाइने प्रमुख जिल्ला अधिकारी गौतमले बताउनुभयो । केही दिनभित्रै जिल्ला सुरक्षा समितिको बैठकले आवश्यक तयारीसहित काठेपुलको प्रक्रिया अगाडि बढाइने उनले बताए ।

 

गृह मन्त्रालयले अस्थायी काठेपुल भएर आवतजावत गर्ने व्यक्तिहरुको अभिलेख राख्न रसुरक्षा निगरानी गर्न पनि स्थानीय प्रशासनलाई भनेको छ ।

 

राप्लाको दुम्लिङमारहेको प्रहरी चौकीबाट सुरक्षाकर्मी परिचालन गरी सुरक्षा निगरानी र अभिलेख राख्ने कार्य गरिने दार्चुला प्रहरी प्रमुख डिएसपी जनकबहादुर शाहीले बताए ।

 

जिल्ला सुरक्षा समितिको बैठकमा थप सुरक्षा व्यवस्थापनका लागि गृहकार्य गरिने प्रजिअ जनार्दन गौतमको भनाई छ । सशस्त्र प्रहरीको परिचालनबारे पनि छलफल रगृहकार्य गरिने उनले बताए ।

 

दुम्लिङमा पनि अस्थायी काठेपुल राखिने

 

भारतीय पक्षको अनुरोधबमोजिम नेपाल सरकारले महाकालीमा तीनवटा अस्थायी काठेपुल राख्न स्वीकृति दिएसंगै नेपाली पक्षको मागअनुसार भारतले पनि राप्लाको दुम्लिङमा काठेपुल राख्न दिने भएको छ ।

 

भारतीय अधिकारीहरुले नेपाली सुरक्षा अधिकारीसंग यसबारे अनौपचारिक जानकारी गराएका छन् । नेपाल सरकारले तीनवटा काठेपुलको स्वीकृति दिएसँगै भारतीय पक्षले पनि दुम्लिङमा काठेपुल राखी सञ्चालन गर्न दिने भएको हो ।

 

भारतीय पक्षले आफ्नो तर्फको उच्च तहबाट दुम्लिङ र घटियाबगड जोड्ने स्थानमा काठेपुल राख्न स्वीकृति प्राप्त भइनसके पनि स्थानीयको आवश्यकता अनुसार तत्काल पुल राख्न दिने बताएको दार्चुलास्थित एक सुरक्षा अधिकारीले बताए ।

 

केही दिनभित्रै यसबारे अन्तिम टुंगो लाग्ने ती अधिकारीको भनाई छ । नेपालका सुरक्षा अधिकारीमार्फत दुम्लिङका वासिन्दालाई काठेपुल राख्न भारतीय पक्षले भनिसकेको छ ।

 

नेपाल सरकारले तीनवटा काठेपुल राख्न स्वीकृति दिएसँगै भारतीय पक्षले पनि दुम्लिङमा पुल राख्न दिने भएपछि केही समयदेखिको काठेपुलको समस्या समाधान हुन लागेको छ ।

विशेष