स्मार्टफोन निर्माताहरुमा आइडिया सकिएरै हाे फेरी किप्याड ?
दशकमा स्मार्टफोन उद्योग विश्वमा सबैभन्दा तिव्ररुपमा अगाडि बढिरहेको र सबैभन्दा चलायमान उद्योगको रुपमा रह्यो । तर के अब स्मार्टफोन व्यवसायको मार्गमा तगारो लागेको हो त ?
बार्सिलोनामा भएको मोबाइल वल्र्ड कंग्रेसका क्रममा सार्वजनिक स्मार्टफोन तथा अन्य ग्याजेटहरुका आधारमा बीबीसीले यस्तो निष्कर्ष निकाल्यो ।
मोबाइल वल्र्ड कंग्रेसमा फाइभ जी नेटवर्क तथा अगमेन्टेड रियालिटीको हल्लाका बाबजुत एउटा प्रश्न ससक्त रुपमा उठ्यो की के अब स्मार्टफोनको आविष्कारको विषय सुस्त भएको वा रोकिएकै हो त ?
मोबाइल वल्र्ड कंग्रेस यस्तो इभेन्ट हो जहाँ विश्वका मोबाइल कम्पनीहरुले कस्ता कस्ता आइडियाहरुको विकास गरिरहेका छन् भन्ने कुरा देख्न पाइन्छ ।
तर यो वर्षभने त्यस्तो छटा कमै देख्न पाइयो । केवल दुईवटा लञ्चले मात्र ध्यान तान्न सफल भएः सामसुंगको ग्यालेक्सी एस नाइनको सार्वजनिकिकरण र अर्को नोकियाको इभेन्ट ।
कुनैबेला मोबाइल फोन उद्योगमा प्रभुत्व जमाएको नोकियाले आफ्नो ब्राण्डको नयाँ मालिक एचएमडी ग्लोबल मार्फत बजारमा पुनरागमन गरिरहेको छ । गत वर्ष नोकियाले आफ्ना ७ करोड मोबाइल फोन बेच्न सफल भयो ।
जसमध्ये कुनै जमानाको चर्चित ३११० मोडेलको मोबाइल फोनको नयाँ संस्करण दशौँ लाख गोटा बिक्यो । सोही ट्रेण्डलाई क्यास गर्दै नोकियाले यो पटक पनि आफ्नो पूरानो लोकपि्रय फोन पुनः बजारमा ल्याएको घेाषणा गर्यो र अरु केही नयाँ रेन्जका स्मार्टफोन पनि सार्वजनिक गर्यो ।
कम्पनीका कार्यकारी अधिकृत फ्लोरियान सिचेका अनुसार नोकियाको नयाँ नोकिया ८११० बनाना फोन यस्ता मानिसहरुका लागि लक्षित छ जो अझैपनि फिचर फोनबाट स्मार्टफोनमा पुगिसकेका छैनन् । अनि यो फोनमा उसले गुगल असिस्टेन्ट जस्ता विभिन्न एप पनि थपिदिएको छ ।
सामसुंगको ग्यालेक्सी एस नाइनले पनि राम्रै धमाका पिट्ने अनुमान गरिएको छ । तर मोबाइल वल्र्ड कंग्रेसका अन्य प्रस्तुतीहरुबाट मानिसहरु निरास बने यो पाला । धेरै कम्पनीहरुले सार्वजनिक गर्ने नयाँ भनिएका स्मार्टफोनहरुमा नयाँ केही नहुने र एक अर्काको नक्कल मात्र हुने गरेको छ । अझ आफ्नो ब्राण्ड स्थापित गरिनसकेका साना कम्पनीहरुले चाहीँ नाम चलेका स्मार्टफोनहरुको हुबहु नक्कल गर्ने गरेको पाइएको छ ।
नोकिया ८११० को ओरिजिनल फोनकी डिजाइनर एन्ड्रिया फिन्के अन्लाउफ एचएमडी ग्लोबल कम्पनीले यो फोन पुनः बजारमा ल्याउन लागेको सुनेर खुसी छिन् । उनी भन्छिन्ः कुनैपनि उत्पादनलाई दिगो बनाउनका लागि प्रयोगकर्ताको अनुभव सबैभन्दा महत्वपूर्ण हुन्छ ।
उनका अनुसार यो फोन बजारमा लोकप्रिय हुनुको मूख्य कारण यसको अलग डिजाइन हो । दुबै छेउबाट खोल्ने र बन्द गर्ने गर्न पाउँदा प्रयोगकर्ताले आफ्नो फोनको गोपनियता कायम भएको अनुभुति गर्न पाए । तर अहिलेका स्मार्टफोन डिजाइनका कारण विकल्पहरु निकै कम रहेका तथा फोन डिजाइनमा स्वतन्त्रता कम रहेको उनी बताउँछिन् । किनकी प्रयोगकर्ताका लागि ठूलो स्क्रिन उपलब्ध गराउनै पर्ने बाध्यता छ । जसले अन्य फिचर्समा सम्झौता गर्नुपर्दछ ।
विश्लेषकहरुका अनुसार पछिल्लो वर्षमा विश्वमा स्मार्टफोनको बिक्रि घट्नुुको एउटा मुख्य कारण चाहीँ नयाँ स्मार्टफोनहरु साँच्चीकै नयाँ खालका नहुनु नै हो । यदि पछिल्लो पटक बजारमा आएको स्मार्टफोन आफुले प्रयोग गरिरहेको स्मार्टफोनभन्दा खासै फरक छैन भने प्रयोगकर्ताले त्यो नयाँ स्मार्टफोन किन्ने जाँगर देखाउँदैनन् । बीबीसी