News खेल

विश्वकप छनोट लागि नेपाल टेष्ट राष्ट्र जिम्बाबेसँग आज प्रतिस्पर्धा गर्दै

विश्वकप छनोट लागि  नेपाल टेष्ट राष्ट्र जिम्बाबेसँग आज प्रतिस्पर्धा गर्दै

काठमाडौं । एक दिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले आज आयोजक जिम्बावेसँग खेल्ने भएकाे छ । विश्वकप छनोटको समूह बी मा रहेको नेपाल र जिम्बाबेबीचको खेल नेपाली समय अनुसार दिउसो १:१५ बजे बुलावायोस्थित क्विन्स स्पोर्ट्स क्लबको मैदानमा सुरू हुनेछ ।

 

आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु को उपविजेता बनेपछि नेपालले जिम्बाबेसँग पहिलो पटक खेल्न लागेको हो । नेपालले सन् २००८ को यू–१९ विश्वकपमा भने जिम्बाबेलाई हराएको थियो । टेष्ट राष्ट्र जिम्बाबेले सन् १९८३ यता लगातार विश्वकप खेल्दै आएको छ । त्यसैले एसोसियट राष्ट्र नेपाललाई बलियो प्रतिद्वन्द्वी जिम्बाबेमाथि जित निकाल्न कठिन हुने देखिन्छ ।

 

तर, नेपाली टोलीका कप्तान पारस खड्काले प्रतियोगिता नेपालको लागि गार्हो भएपनि नेपालले ‘सुपर सिक्स’ मा पुग्ने लक्ष्य लिएको बताउछन् । जिम्बाबेलाई हराउनै नसकिने टिमका रुपमा नलिएको र दाबेदार भएर नै छनोटमा पुगेको भन्दै उनले नेपालले आइतबार सरप्राइज दिनसक्ने टिमका रूपमा रहेक पनि बताए ।

 

पाँच राष्ट्र सम्मलित समूह बी को शिर्ष ३ टोलीले सुपर सिक्समा स्थान बनाउने छन् । शिर्ष ६ भित्र पुग्न नेपालले कम्तिमा २ खेल जित्नै पर्ने हुन्छ । नेपालको लागि यो महत्वपूर्ण प्रतियोगिता समेत हो । प्रतियोगिताका शीर्ष दुई स्थानमा रहने राष्ट्र अर्को बर्ष इङ्ल्यान्डमा आयोजना हुने एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताका लागि छनोट हुने छन् ।

 

यस्तै समुहका शीर्ष तीन स्थानमा रहने राष्ट्र सुपरसिक्स चरणमा प्रवेश गर्नेछन् । समूह चरणमा नेपालले जिम्बाबेपछि स्कटल्याण्ड, अफगानिस्तान र हङकङसँग खेल्नेछ । नेपालले स्कटल्याण्डसँग मार्च ८ मा , अफगानिस्तानसंग मार्च १० र हङकङसँग मार्च १२ मा खेल्नेछ ।

 

छनोटको समूह ए मा वेष्ट इन्डिज, आयरल्यान्ड, नेदरल्यान्ड्स, पपुवा न्युगिनी र यूएई रहेका छन् । विश्व क्रिकेट लिग डिभिजन २ बाट बढुवा हुँदै प्रतियोगितामा स्थान बनाएको नेपालले सुपर सिक्स चरणमा पुग्दै एक दिवसीय अन्तराष्ट्रिय मान्यता पाउने प्रमुख लक्ष्य बनाएको छ ।

 

विशेष