News स्वास्थ्य

शिलान्यास १० वर्षअघि, काम सुरू अहिलेसम्म छैन

महेन्द्रनारायण निधि मेमाेरियल अस्पताल धनकुटा

शिलान्यास १० वर्षअघि, काम सुरू अहिलेसम्म छैन

धनकुटा । धनकुटा, पाँचथर, मोरङ र इलामको संगमस्थल बुधबारे बजारमा अस्पताल निर्माणको चर्चा चलेको एक दशक बितेको छ ।

 

अस्पताल निर्माणको कुरा उठेदेखि घर नजिकै स्वास्थ्य सेवा लिन पाइएने आसमा बसेका सो क्षेत्रका बासिन्दा अस्पताल निर्माणको कार्यले गति नलिँदा निरासमात्र नभइ अाक्राेशित बन्न पुगेका छन् ।

 

२०६४ सालबाट अस्पताल निर्माणको चर्चा चलेको धनकुटा ६ नम्बर बुधवारे बजारमा हालसम्म अस्पताल शिलान्यास र भवन निर्माणका लागि माटो परीक्षण गर्ने बाहेक कुनै काम अघि बढ्न सकेको छैन ।

 

त्यस बेला सुजता कोइरालालाई अस्पताल निर्माणको पहल गरिदिन आग्रह गरेका स्थानीयले पछि विमलेन्द्र निधिलाई आग्रह गरेका थिए । निधिले आफ्ना पिता महेन्द्र नारायणको नाममा रहेको ट्रष्टमार्फत अस्पताल निर्माण गरिदिने भन्दै २०७२ सालमा बुधबारे आइ अस्पतालको शिलान्याससमेत गरेका थिए ।

 

त्यसपछि भवन निर्माणको लागि माटो परीक्षणको काम भयो र माटोसमेत उपयुक्त देखियो । त्यसयता अस्पताल निर्माणकोे कुनै पनि काम अघि बढ्न सकेको छैन ।

 

 

अस्पताल निर्माणका लागि स्थानीयले उत्साहित हँुदै सहयोग पनि गर्दै आएका छन् । उनीहरुले अस्पतालको लागि आवश्यक जग्गासमेत खरिद गरेर अस्पतालको नाममा हस्तान्तरण गरिसकेका छन् ।

 

त्यस्तै १ लाख ५ हजारका दरले ३० व्यक्तिले सेयर लिइ पैसा संकलन समेत सुरु गरिसकेका छन् ।

 

सुविधायुक्त स्वास्थ्य सेवा अभावमा सो क्षेत्रका बासिन्दाले स्वास्थ्य सेवा लिन कम्तीमा चार घण्टाको दूरी तय गरेर धरान या विराटनगरलगायत स्थानको भर पर्नुपर्ने बाध्यता छ ।

 

यता अस्पताल निर्माण प्रक्रियाकै क्रममा रहेको र यसै वर्षबाट भौतिक संरचना निर्माणको काम अघि बढ्ने अस्पताल निर्माण समितिले जनाएको छ ।

 

अस्पताल निर्माणको लागि आफूहरु जस्तोसुकै सहयोग गर्न तयार रहे पनि अस्पताल निर्माणको कुनै पनि काम सुरु हुन नसक्दा अस्पताल नबन्ने पो हो कि भन्ने समस्याले सताउने गरेको अस्पताल निर्माण समितिका सदस्य हेककर्ण तुम्सा बताउँछन् ।

 

यहाँ विभिन्न विशेषज्ञ सेवासहित पचास बेडकाे सामुदायिक अस्पताल निर्माणको तयारी गरिएको थियो । बुधबारे बजार चार जिल्लाको एक दर्जन गाँउपालिकाको केन्द्रको रुपमा रहेको छ ।

्र

यहाँ सुविधासम्पन्न अस्पताल बन्न सके सो क्षेत्रका दुई लाखभन्दा बढी सर्वसाधारणले सहजै स्वास्थ्य सेवा पाउने थिए ।

विशेष