News

युराे ३ मापदण्डका गाडी हटाउने तयारी तयारीमै सीमित

युराे ३ मापदण्डका गाडी हटाउने तयारी तयारीमै सीमित

काठमाडाैं । सरकारले युरो ३ मापदण्डका गाडी आयातमा प्रतिबन्ध गर्ने तयारी थालेको छ। बढ्दै गइरहेको प्रदूषणको कारण जनमानसको स्वास्थ्यमा नराम्रो असर परेको भन्दै सरकारले यो कदम चाल्न आँटेको हो।

 

यससम्बन्धी छलफल मात्र भएको तर निणर्य भने नभएको वन तथा वातावरण मन्त्रालयका सहसचिव रामेश्वर दंगालले जानकारी दिए। यो नियम लागु गर्न सवारीसम्बन्धी मापदण्ड फेर्नुपर्ने भएकोले अझै केही समय लाग्ने उनले बताए।

 

‘वातावरण कम प्रदूषण गर्ने सवारी ल्याउनुपर्छ भन्ने सोच हो, छिमेकी राष्ट्र भारत युरो ५ मापदण्डमा जाने तयारीमा छ हामी युरो ४ मा किन नजाने’, उनले भने। सामान्य छलफलको क्रममा मन्त्री लालबाबु पण्डित पनि निकै सकारात्मक भएको दंगालले जानकारी दिए।

 

त्यस्तै भर्खरै मात्र जनसंख्या तथा वातावरण मन्त्रालय परिमार्जन भएर वन तथा वातावरण मन्त्रालय भएकोले नयाँ मन्त्री आएर सम्पूर्ण कुरा नसुल्झिएसम्म यो विषय अघि बढ्ने छैन।

 

एउटा गैरसरकारी संस्थाले गरेको अध्यनको अनुसार एक वर्षमा नेपालमा मृत्यु हुने मध्य ३५ हजारमध्ये वातावरण प्रदूषण पनि एउटा कारण भएको जनाएको छ।

 

सरकारले यस अघि नै युरो ४ मापदण्डको इन्धन भित्र्याए पनि सवारी साधन भने युरो ३ मापदण्डका थिए। युरो ४ मापदण्डको सवारी वातावरणिय दृष्टिकोणले युरो ३ भन्दा राम्रो मानिन्छ।

 

यो मापदण्डमा कम वातावरण प्रदूषण गर्ने गरी युरो १ देखि युरो ६ सम्मको तह निधारर्ण गरिएको छ। भारतले यसअघि नै युरो ३ मापदण्डका गाडी प्रतिबन्ध गरिसकेको छ। भारतमा प्रतिबन्धित त्यस्ता गाडी नेपालमा आउने सम्भावना भएकोले नयाँ मापदण्ड बनाउन सरकारलाई दबाब पर्दै आएको छ।

विशेष