News समाज

छोरी जन्मिए खातामा २५ हजार !

छोरी जन्मिए खातामा २५ हजार !

बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिकाले छोरी जन्मिए मुद्दती खाता खोलेर २५ हजार जम्मा गर्ने कार्यक्रम ल्याएको छ । लिंग पहिचान गरी छोरी भएमा गर्भपतन गर्ने क्रम बढेपछि त्यसलाई निरुत्साहित गर्न गाउँपालिकाले यस्तो कार्यक्रम ल्याएको हो । छोरीको पहिचान गरी गर्भपतन नगरून भनेर स्थानीय तहले विशेष अभियान सञ्चालनको तयारी गरेको हो ।

 

गाउँपालिकाले चालू आर्थिक वर्षमा एक करोड २१ लाख बजेट बिनियोेजन गरिसकेको छ । छोरा जन्माउने आशामा छोरी भए गर्भपतन गर्ने क्रम बढेकाले रोक्नलाई यस किसिमको कार्यक्रम अगाडि बढाइएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले कार्यक्रमले गर्भपतन र बालविवाह रोक्ने विश्वास लिएको बताए ।

२५ हजारको मुद्दती खाता

 

गाउँपालिकाले बालिका संरक्षण कार्यक्रमअगाडि बढाउन कार्यविधि बनाउने जनाएको छ । यस कार्यक्रम अन्तर्गत प्रत्येक बालिका जन्मेपछि मुद्दती खाता खोलिनेछ । सो खातामा गाउँपालिकाले २० हजार र अभिभावकले ५ हजार रुपैयाँ राख्नुपर्नेछ ।

 

मुद्दती खाता बालिकाको नाममा खोलिनेछ । विपन्न परिवारका लागि भने ५ हजार जम्मा गर्न अनिवार्य नगरेको प्रमुख प्रशासकीय अधिकृत नेपालले बताए । त्यसका लागि सो वडा कार्यालयबाट सिफारिस ल्याउनुपर्नेछ ।

 

२० वर्ष नपुग्दै बिहे गरे रकम नपाउने

 

बालिका २० वर्षकी भएपछि मात्रै मुद्दती खातामा जम्मा भएको रकम चलाउन पाउने व्यवस्था गरिँदै छ । त्यसअघि विवाह गरे सो रकम गाउँपालिकाको खातामा जाने व्यवस्था गरिने प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले बताए । यसले बालविवाह रोक्ने अपेक्षा छ ।

विशेष