News

विश्वकै खराब पासपाेर्टमा नेपाल साताैं स्थानमा

विश्वकै खराब पासपाेर्टमा नेपाल साताैं स्थानमा

काठमाडौँः नेपालको पासपोर्ट विश्वकै खराब पासपोर्टको सूचीको सातौँ नंम्बरमा परेको छ।  हेन्ले पासपोर्ट सूचकांकमा नेपाल अन्तिमबाट सातौँ स्थानमा परेको हो। 

विभिन्न देशले जारी गर्ने पासपोर्टको विश्वव्यापी हैसियतको आधारमा २०१८ को फेब्रुअरी महिनामा प्राप्त तथ्यांकका आधारमा हेन्ले एण्ड पार्टनरले गरेको सर्भेक्षणमा नेपाल ९९ औँ स्थानमा परेको हो। नेपालसँगै समान ३६ अंक पाएर लिविया पनि ९९ औँ स्थानमा रहेको छ। 



यो अंक विश्वका अन्य मुलुकमा भिसारहित प्रवेश (अन दी अराइभल  भिसा) प्राप्त गर्ने देशको संख्या हो। नेपालले विश्वका ३६ वटा देशहरुमा अन द अराइभल भिसा पाउँदै आएको छ। 

कुल २०५ देशको सूचीमा नेपाल अन्तिमबाट सातौँ स्थानमा आएको हो। 

यो सूचीको शीर्ष स्थानमा जापान र सिङ्गापुर रहेका छन्। दुवै देशले १८० वटा देशमा अन दी अराइभल भिसा पाउँदै आएका छन्। त्यस्तै दोस्रो स्थानमा रहेको जर्मनीले १७९ अंक प्राप्त गरेको छ भने तेस्रो स्थानमा रहेका फ्रान्ससँगै इटाली, स्पेन, डेनमार्क, फिनल्याण्ड, स्वीडेन, दक्षिण कोरिया रहेका छन्। यी देशले १७८ अंक प्राप्त गरेको छन्। 

चौथोमा १७७ अंक प्राप्त गरी पोर्चुगल, अष्ट्रिया, संयुक्त अधिराज्य, नर्वे, लक्जेम्बर्ग, नेदरल्याण्ड छन्। त्यस्तै क्यानडा, स्वीट्जरल्याण्ड, आयरल्याण्ड र संयुक्त राज्य १७६ अंकका साथ पाँचौ स्थानमा रहेका छन्। 

पासपोर्ट सूचकांकको पुछारमा अफगानिस्तान रहेको छ। उसले २४ अंक प्राप्त गरेको छ। त्यस्तै इराक पुछारबाट दोस्रो र सिरिया तेस्रो स्थानमा रहेको छ। यी देशहरुले क्रमशः २७, २८ अंक प्राप्त गरेका छन्। 

दक्षिण एसियाकाे अर्को देश पाकिस्तान सूचीमा १०२ औँ स्थानमा रहेको छ। जुन सूचीको पुछारबाट चौँथो स्थान हाे । उसले ३० अंक प्राप्त गरेको छ।  बंगलादेश सूचकांकको ९७ औँ स्थानमा छ। ३८ अंक प्राप्त गरेको बंगलादेशको पासपोर्ट ९ औँ खराब पासपोर्टमा भएकाे छ। 

विशेष