चुडामणि शर्मा ४५ लाख धरौटीमा रिहा
काठमाडौं । विशेष अदालतले गैरकानुनी रुपमा अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा चलाइएका राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशक चुडामणि शर्मासँग विशेष अदालतले ४५ लाख रुपैयाँ धरौटी माग गरेको छ ।
विशेषका रजिष्ट्रार भीमकुमार श्रेष्ठले अदालतले मागेको धरौटी रकमबापत नेपाल इन्भेष्टमेन्ट बैंक जमानी बसेका कारण साधारण तारिखमा राखिएको बताए। ‘उनकी पत्नी भने अदालतमा हाजिर भएकी छैनन्,’ श्रेष्ठले भने ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको अकुत सम्पत्ति मुद्दामा शर्मा आइतबारै अदालतमा उपस्थित भएका थिए। विशेषका न्यायाधीशद्वय द्वारिकामान जोशी र चण्डीकाराज ढकालको इजलासले शर्मासँग ४५ लाख धरौटी मागको आदेश दिएको हो।
उनीविरुद्ध चार करोड २९ लाख रुपैयाँ बराबर गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोग थियो । यसअघि कर फछ्र्योट आयोगको सदस्यसचिव रहँदा एक अर्ब राजस्व हिनामिना गरेको अभियोगसहित अख्तियारले अर्को मुद्दा दायर गरेको थियो ।
उक्त मुद्दामा पनि अदालतले मागेको एक करोड रुपैयाँ धरौटी रकम बुझाएर शर्मा अदालती तारेखमा छन् । याे खबर अाजकाे अन्नपूर्ण पोस्टमा छ ।