पाकिस्तानी प्रधानमन्त्रीकाे नेपाल भ्रमणप्रति भारत किन सशंकित ?
भारतीय मिडियाले पाकिस्तानी प्रधानमन्त्रीकाे नेपाल भ्रमणकाे विषयलाई लिएर निकै टीकाटिप्पणी गरेकाे छन्
नेपालमा नयाँ सरकार गठनसँगै प्रधानमन्त्री केपी ओलीसँग सम्बन्ध सुधार्न प्रयासरत रहेको भारतले एकाएक ओलीलाई बधार्इ दिन पाकिस्तानी प्रधानमन्त्री अब्बास काठमाडौं आएपछि विभिन्न कोणबाट विश्लेषण गर्न थालेको छ । यद्यपि अब्बासीको नेपाल भ्रमणबारे भारतीय विदेशमन्त्रालयले भने कुनै प्रतिक्रिया जनाएको छैन ।
भारतीय मिडियामा भने पाकिस्तानी प्रधानमन्त्री अब्बासीको नेपाल भ्रमण र ओली सरकारले उनलाई गरेको सत्कारबारे चर्चा हुन थालेको छ । भारतीय अखबार ‘दैनिक जागरण’ को मंगलबार प्रकाशित अंकमा पाकिस्तानी प्रधानमन्त्रीको नेपाल भ्रमणबारे समाचारका साथसाथै यो भ्रमणबाट भारतसामु उपस्थित चुनौतीलाई विश्लेषणात्मक रुपमा पेश गरिएको छ ।
ओली सरकारले लिएको दिशा भारतका लागि चिन्ताको प्रमुख कारण रहेको पनि सो अखबारमा उल्लेख छ । समाचारमा भनिएको छ, ‘नेपालका प्रधानमन्त्री केपी ओलीका बारेमा भारतको आशंका सत्य साबित हुँदै गएको छ ।
पहिला चीनकाे समाचारपत्रमा दिएकाे साक्षात्कारमा भारतको कुटनीतिक हितविरुद्ध कुरा गरेर र पछि पाकिस्तानका प्रधानमन्त्रीलाई औपचारिक भ्रमणमा बोलाएर ओलीले भारतीय कूटनीतिसमक्ष ठूलो चुनौती पेश गरेका छन् ।’
नेपालमा नयाँ सरकार गठनपछि भारतीयभन्दा पहिला पाकिस्तानी प्रधानमन्त्रीको भ्रमण हुनु पहिलोपटक भएको पनि समाचारमा उल्लेख छ ।
ओली पहिलोपटक प्रधानमन्त्री हुँदा पनि भारतविरोधी व्यवहार गरेको भन्दै उक्त समाचारमा लेखिएको छ, ‘दोस्रो पटक प्रधानमन्त्री भएपछि ओलीलाई मनाउन भारतले धेरै प्रयास गरे पनि उनको व्यवहारमा खास परिवर्तन देखिएको छैन ।’